२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पशुपतिमा सुनको जलहरी राख्ने काम अन्तिम चरणमा


0
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथमा सुनको जलहरी राख्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

चाँदीको जलहरीलाई विस्थापित गर्दै १ सय ८ किलो सुनबाट बनाइएको जलहरी फागुन १२ गते भित्रै जडान गर्ने तयारीमा पशुपति क्षेत्र विकास कोष लागेको छ ।

एक अर्ब बढि लागतमा सुनको जलहरी राख्ने तयारी भईरहँदा पशुपति क्षेत्रमा भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको भने पुनर्निर्माण गर्नेतर्फ चासो देखाइएको छैन ।

पशुपति क्षेत्रको संरक्षण तथा विकासको जिम्मा लिएको पशुपत्ति क्षेत्रको विकास कोषले पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्गमा १ सय ८ किलोको सुनको जलहरी यसै हप्ता राख्ने तयारी गरेको छ ।

८० करोड रुपैयाँको लागतमा जलहरी बन्न लागको दाबी पशुपत्ति क्षेत्र विकास कोषले गरेको भएपनि सो जलहरीका लागि डेढ अर्ब हाराहारीको खर्च लागेको बताइएको छ ।

शिवलिङ्गमाथि सुनको जलहरी राख्नै नहुने नहुने तर्कहरु पनि बाहिर नआएको होईन तर कोषले भने सुनको जलहरी लगाउने तयारी लगभग पुरा गरेको छ ।

पाटनका कालिगढहरुले अहिले जलहरी निर्माण गरिरहेका छन् । आगामी केही दिनभित्रै उपयुक्त साईत निकाले जलहरी राखिने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सुनको जलहरी लगाउने प्रक्रिया अघि बढेको हो ।

उसो त पशुपत्ति क्षेत्रसँग सम्बन्धित सरोकारवाला तथा स्थानीयले पनि पशुपत्तिमा सुनको जलहरी राख्न नहुने जिकिर गर्दै आएका छन् ।

सुनको जलहरी राख्ने तयारी अन्तिम चरणमा पुगेकाले अब त्यसको औचित्यको विषयमा बहस गर्नुको अर्थ नहोला ।

तर अर्बाैं खर्च गरेर जलहरी राख्न तयारी भईरहँदा पशुपति क्षेत्र भित्रै लथालिङ्ग अवस्थामा रहेका अन्य सम्पदाहरुले भने सरकार र कोषलाई गिज्याईरहेका छन् ।

कोषका अनुसार अहिले पनि विश्व सम्पदा सूचिमा परेका १३ वटा सम्पदाको पुनर्निर्माण हुन सकेको छैन ।