२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


यु–१९ एसिया कपमा नेपालको सान्त्वना जित


0
Shares

काठमाडौं, भदौ २४ । श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत् मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १६० रनले पराजित गरेको छ ।

श्रीलंकाको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २८५ रन बनायो ।

२८६ रनको विजय लक्ष्य पछ्याएको युएई ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो ।

ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ८४ बल खेल्दै एक छक्का र ९ चौका प्रहार गरे ।

सन्दीप जोराले ५३ बलमा ६ चौकासहित ४८, राशिद खानले ४४ बलमा एक छक्का र पाँच चौकासहित ४४, आशिफ शेखले ४५, कमलसिंह ऐरीले २६ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४१ र कुशल मल्लले २२ रन बनाए ।

बलिङतर्फ युएईका सञ्चित शर्मा र आकाश ताहिरले ३/३, कात्तिक पलानियाप्यनले २ तथा ऋषभ मुखर्जीले एक विकेट लिए ।

ब्याटिङतर्फ युएईका लागि अरविन्द्र रुद्रवेलले २८, अल्सान शरफुलले २१ तथा शैयद हैदरले १५ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सागर ढकालले ३, पवन सर्राफ, सूर्य तामाङ र राशिद खानले २/२ तथा कमलसिंह ऐरीले एक विकेट लिए ।

समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा श्रीलंकसँग ५ विकेटले तथा दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । रासस