२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कस्तो अवस्थामा हुन्छ डेंगीको जटिलता ?


0
Shares

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, भदौ २४ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ ।

धरानबाट सुरु भएको डेंगीबाट पछिल्लो चरणमा ५६ जिल्लाका सात हजार बढी मानिस प्रभावित भएका छन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो ९ दिनमामात्र दुई हजार ४२५ जनाले डेंगीको परीक्षण गराएका छन् ।

सरुवा रोगकोमात्र उपचार गराउने देशको एकमात्र सरकारी अस्पतालमा दिनहुँ झन्डै ४०० मानिस डेंगी परीक्षण गराउन आउने गरेको अस्पतालले जनाएको छ ।

जसमा गत सोमबार डेंगी परीक्षण गराउन आएका ४४६ जनामध्ये ३११ जनामा डेंगीको संक्रमण भेटिएको थियो ।

अस्पतालका प्रवक्ता अनुप बास्तोलाले हालसम्म १३१ जनाको उपचार गरिसकेको जानकारी दिए ।

डेंगी रोगबारे मानिसमा त्रास नै फैलिएका कारण अस्पतालमा बिरामीकोसमेत निकै घुइँचो देखिएको छ ।

सामान्य ज्वरोमा आउँदैमा डेंगीको परीक्षण गराउन आउने हुँदा बिरामीको चाप निकै बढेको डा. बास्तोलाले बताए ।

डेंगी देखिएको बिरामीमध्ये निकै कममामात्र डेंगीको जटिलता हुने भन्दै डा. बास्तोलाले सामान्य ज्वरो आउँदैमा डराउन भने नहुने बताए ।

पेट दुख्ने, लगातार बान्ता आउने, गिजावाट रगत बग्ने, हाडजोर्नी दुख्ने लक्षण लामो समय देखियो भनेमात्र डर हुने डा. बास्तोलाले बताए ।

डेंगी रोग नियन्त्रण गराउन सरकारलेसमेत ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

जाडो महिना सुरु नहुँदासम्म डेंगीको जोखिम रहने हुँदा सरकारबाट ठोस कार्यक्रमसहितको प्रतिबद्धता नआए डेंगी नियन्त्रण गर्न मुस्किल हुने उनको भनाइ छ ।

डेंगी रोग नियन्त्रण गराउन व्यक्ति र समुदायकोसमेत निकै ठूलो भूमिका रहन्छ ।

घर वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने, झुल टाँगेर बस्ने र ज्वरोको लक्षण देखासाथ झोलिलो खानेकुरा खाने, प्यारासिटामोल खाने र घरमै आराम गर्दा पनि डेंगी रोग नियन्त्रण गराउन सकिने चिकित्सकहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्