१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पूर्वाधार लगानी सम्मेलनको तयारी पूरा, दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री मुख्य वक्ता


0
Shares

काठमाडौं, भदौ २३ । नेपाल उद्योग परिसंघले तेस्रो पूर्वाधार लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्तरुपमा आयोजना गर्न लागेको सम्मेलनको आउँदो बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

सम्मेलनमा मुख्य वक्ता दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा. आन सिओङ सो र विशेष वक्ता भारतका विद्युत् राज्यमन्त्री राजकुमार सिंह रहने परिसंघले जनाएको छ ।

परिसंघले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनका अध्यक्ष सतिशकुमार मोरले तेस्रो संस्करणको पूर्वाधार सम्मेलनमा सातओटै प्रदेशमा लगानीको अवसर र चुनौतीकाबारेमा छलफल हुनेछ ।

प्रदेशमा लगानीको वातावरणबारे सबै प्रदेशका मुख्यमन्त्रीहरुले जानकारी गराउने उनले बताए ।

सम्मेलनमा लगानी बोर्डले यसअघि नै तयार पारेको २१ ओटा परियोजना, सातओटा प्रदेशका छुट्टा–छुट्टै परियोजना ‘शो–केस’मारुपमा राखिनेछन् ।

ठूला पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने, प्रदेशका कस्तो आयोजनामा निजी क्षेत्रले लगानी गर्नसक्छ, कानुनी व्यवस्था कस्तो छ भन्नेबारेमा विशेष छलफल हुने उपाध्यक्ष वीरेन्द्र पाण्डेले बताए ।

बुधबार र बिहीबार दुई दिन चल्ने सम्मेलनमा करिब ५०० जनाको सहभागिता रहने परिसंघले जनाएको छ ।