१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


६० हजार डलरसहित ल्यापटप चिठ्ठा परेको भन्दै ७ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ


0
Shares

बागलुङ, फागुन ४ । बागलुङको ढोरपाटन नगरपालिका–६ की २० वर्षीया युवतीलाई फेसबुक र ह्वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले डोनाल्ड केन्ली नामको फेसबुक एकाउन्टको म्यासेन्जरबाट ढोरपाटनकी मिना बुढा मगरलाई ६० हजार डलरसहित ल्यापटप चिठ्ठामा परेको भन्दै ठग्ने एक जना पाकिस्तानीसहित ५ जना नेपालीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

ठगीमा संलग्न अन्य ४ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चिठ्ठामा परेको रकम र ल्यापटप प्राप्त गर्नका लागि कर तिर्नु पर्ने भन्दै डोनाल्ड केन्ली भन्ने व्यक्तिसँग ह्वाट्सएप मार्फत गरेको कुराकानीको आधारमा मिनाले पटक–पटक गरि ७ लाख ६१ हजार रुपैयाँ विभिन्न व्यक्तिलाई पठाएकी थिइन् ।

करबापत भन्दै अपरिचित व्यक्तिलाई लाखौ रकम पठाएपछि आफु ठगिएको आशंकामा मिनाले २०७७ कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको उपरिक्षक श्रेष्ठले बताउनुभयो ।

ह्वाट्सएप र फेसबुक म्यासेन्जरमा कुराकानी गर्ने व्यक्तिले मिनालाई आएएमी, आइपीयसमार्फत नेपालको विभिन्न स्थानमा रहेका व्यक्तीलाई पैसा पठाउन लगाएका थिए ।