Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कांग्रेसले डा. केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? : दाहाल


0
Shares

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा. डा. गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औं स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुईतिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब कांग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गरे ।

‘प्रतिक्रान्तिका तागतहरुले क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षड्यन्त्रस्वरुपका क्रियाकलाप भइरहेका छन् । के कांग्रेसले डा. केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने कांग्रेस अब इतिहासको विषय बन्न धेरैबेर लाग्दैन । नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदैछ’–उनले भने ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कांग्रेसले प्रा. डा. केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको जनाउँदै भने–‘केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उहाँहरुको सरकारको पालामा अनशन गरेका छन् । अनि अहिले संसदलाई निर्णय गर्न नदिएर केसीले जे भन्छन्, त्यही गर्नुपर्छ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् ? कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?’

निर्वाचनपूर्व गत असोज १७ गते भएको वाम गठबन्धनको तालमेलदेखि आफूहरुलाई फुटाउने षड्यन्त्र भएको बताउँदै उनले निर्वाचन आचारसंहिताविपरीत र लोकतान्त्रिक मूल्यमान्यताविपरीत अलोकतान्त्रिक र निरंकुश ढंगले राजनीतिक नियुक्ति भएकामा नयाँ सरकारले त्यस्ता कामलाई सच्याउँदै समृद्धि र विकासको तयारी गरिरहेको उल्लेख गरे । रासस