२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


म्याग्दीको ताकम विद्युतिकरण योजनामा ढिलाई


0
Shares

म्याग्दी । म्याग्दीको ताकममा संचालित विद्युतीकरण योजनामा ढिलाई हुँदा स्थानीय निराश भएका छन् ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाले गौरवको आयोजनाको रुपमा प्राथमिकतामा राखेको गाउँपालिका–७ ताकममा सञ्चालित विद्युतीकरण योजनामा ढिलाई हुँदा स्थानीय निराश भएका हुन् ।

गत आर्थिक वर्षमा नै बिजुली बल्ने आशामा रहेका ताकमबासी उपभोक्ता समिति, विद्युत प्राधिकरण र ठेकेदार कम्पनीको ढिलासुस्तिले अहिले निराश भएका हुन् । 

उपभोक्ता समिति, प्राधिकरण र ठेकेदार कम्पनीको आपसी स्वार्थका कारण उत्पन्न खिचातानीले ढिलाई भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

गाउँपालिकाले गौरवको आयोजना मानेको ताकम विद्युतीकरण योजनालाई गत आर्थिक वर्षमा असी लाख रुपैयाँ विनियोजन गरेपनि काम हुन नसकेपछि ५७ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ ।

प्राधिकरणका ठेकेदारसँग तालमेल नमिल्दा स्थानीयको तर्फबाट गर्नुपर्ने काम भएपनि बिजुली बाल्न ढिलाई भएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले जानकारी दिए ।

उनका अनुसार समितिले ८८ किलोमिटर तार खरिद गरेर श्रमदान मार्फत १ सय ५१ पोल अड्याउने स्टे सेट राखिएको छ ।

तार तान्ने, पोल ढुवानी तथा गाड्ने र ट्रान्समिटर ढुवानी गर्न प्राधिकरणबाट ठेक्का पाएका कम्पनीले असहयोग र ढिलासुस्ति गरेको समितिका पदाधीकारीको भनाई छ ।

थप पोल गाड्ने, तार तान्ने, वायरिङ तथा मिटर बक्स जडान गर्ने काम भइरहेकाले दसै अघिसम्म ताकममा विजुली बाल्न सकिने प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनियर हेमराज चापागाइले जानकारी दिए ।

यस वर्ष प्रदेश सरकारले धवलागिरी गाउँपालिकाको विद्युतीकरणका लागि दुई करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ ।