Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


दुनियाँको कुनै ताकतले बैशाखको निर्वाचन रोक्न सक्दैन– महासचिव पौडेल


0
Shares

काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको कुनै ताकतले बैशाखमा हुने निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ ।

ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको जनसभामा महासचिव पौडेलले निर्वाचन बैशाख १७ र २७ गते नै हुने जिकिर गर्नुभयो ।

‘मानिसहरुमा चुनाव हुँदैन कि भन्ने भ्रम छ,’ उहाँले भन्नुभयो, ‘बैशाखको १७ गते चुनाव हुन्छ, बैशाखको २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै ताकतले यो चुनावलाई रोक्न सक्दैन ।’ जनसभामा उहाँले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतमा जारी रहेकै बेला सरकारमा रहेका मन्त्रीहरुले निर्वाचन हुने ठोकुवा गरिरहेका छन् । विघटनको मुद्दाम सर्वोच्चले प्रतिनिनिसभा पुनर्स्थापना गरेको अवस्थामा निर्वाचन हुँदैन ।

महासचिव पौडेलले पार्टीबाट केही स्वार्थी तत्वहरु किनारा लाग्दैमा पार्टीमा खासै फरक नपर्ने बताउनुभयो । उहाँले पार्टीले निर्वाचनबाट बहुमत प्राप्त गर्ने र पुनः एक कार्यकाल केपी ओलीले सरकारको नेतृत्व गर्ने उल्लेख गर्नुभयो ।