काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले झण्डै दुई महिना लामो केन्द्रीय समिति बैठक टुंग्याउँदै जागरण अभियान घोषणा गरेको छ ।
पाँचवटा मुद्दा तय गरेको कांग्रेसले अभियान पार्टी सुदृढिकरणमा भन्दा पनि सरकारविरुद्धमा केन्द्रित हुने संकेत गरेको छ ।
निर्वाचनमा पार्टी पराजित भएपछि नै देखिएको लामो विवादलाई यो बैठकले केही हल भने गरेकै छ ।
१४ वटा एजेण्डासहित दुई महिना अघि सुरु भएको बैठकले पार्टीको अन्तरकालीन संरचनाको टुंगो लगाउँदै १४ औं महाधिवेशनका लागि मार्ग प्रशस्त गरेको छ ।
लथालिङ रहेका भातृ संस्थाहरुलाई ६ महिनाको म्याद दिइएको छ । समसामयिक विषयमा पनि दृष्टीकोण सारेको छ ।
तर बैठकमा जे–जे विषयले प्रवेश पाएका थिए । त्यसबारे भने पार्टीले आधिकारीक दृष्टिकोण बनाउन सकेन ।
वर्तमान सत्ताकै कारण व्यवस्था खतरामा रहेको वा विकल्प खोजिएको विषयमा कांग्रेसभित्र यस पटक राम्रै चर्चा भयो । धर्म निरपेक्षता खारेज गर्ने पुरानो आवाजले पनि निरन्तरता पायो ।
तर कांग्रेसले त्यही विषयलाई लिखित दस्तावेजमा भने राखेन । अहिलेको असन्तुष्टीको सम्पूर्ण दोष वर्तमान ओली नेतृत्वको सरकारलाई दिंदै कांग्रेस आफु चोख्खिने प्रयासमा छ ।
कांग्रेसले भदौ २४ गतेबाट सुरु गर्ने जागरण अभियानलाई पनि सरकारकै विरुद्ध केन्द्रीत गर्ने रणनीति बनाएको छ ।
कांग्रेसले सरकारका विरुद्ध बढ्दो महंगी, वाईडबढी, न्यारोबडी भ्रष्टचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको सम्पुर्ण कुशासन विरुद्ध केन्द्रीत हुने तय गरेको छ ।
पहिलो चरणको अभियानमा ३१ हजार ६ सय ४२ जनालाई कांग्रेसमा भित्र्याएको दाबी गरेको कांग्रेसले दोस्रो चरणको अभियानमा पनि सो कार्यलाई निरन्तरता दिने भनेको छ ।
पार्टीको काममा लाग्दा धेरै नेता कार्यकर्ताले दुख पाएको र अवसर नपाएको गुनासो कांग्रेस भित्र यत्रतत्र भेटिन्छ ।
पार्टी सत्तामा रहँदा खासै त्यस्ता पुराना योद्धा र शहिद परिवारलाई नभेट्ने कांग्रेसले प्रतिपक्षमा पुग्दा भने जागरण अभियानकै नाममा भने पनि त्यस्ता जनताको घर पुग्ने लक्ष्य राखेको छ ।
१५ बुंदे उद्देश्य पत्र तयार पारेको कांग्रेसले कांग्रेस किन बन्ने भन्दा पनि कम्युनिष्ट किन नबन्ने भन्ने विषयलाई मात्र जोड दिएको छ ।
अघिलो जागरण अभियान पार्टी भित्रकै किचलोमा सक्याएको कांग्रेसले दोस्रो अभियानलाई पनि त्यसकै निरन्ताराका रुपमा मात्र लाने खतरा छ । जुन प्रमुख प्रतिपक्षी कांग्रेसबाट आम जनताले खाजेको विषय नहुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्