२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रामकुमारी झाँक्री रिहा


0
Shares

काठमाडौं, माघ २९ । राज्य विरुद्धको कसुरको आरोपमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा हुनु भएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार झाँक्रीलाई उहाँका श्रीमान्को जिम्मामा रिहा गरिएको हो ।

बिहीबार दिउँसो शंखमूलस्थित आफ्नै निवासबाट पक्राउ पर्नुभएकी झाँक्रीलाई प्रहरीले पाँच घण्टापछि रिहा गरेको हो ।

पक्राउ गरी मीनभवनस्थित महानगरीय प्रहरी वृत्तमा राखिएकी झाँक्रीलाई सामान्य सोधपुछपछि रिहा गरिएको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले झाँक्रीलाई सोधपुछका लागि डाकेकोमा उहाँले आफूलाई पक्राउ पूर्जी चाहिने भनेपछि घरमै पुगेर प्रहरीले पक्राउ पूर्जी थमाएको थियो ।

त्यसपछि झाँक्रीले गिरफ्तारी दिनुभएको थियो ।

गिरफ्तारी दिनुअघि प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अभिव्यक्ति स्वतन्त्रता अंकुस लगाउन खोजिएको र आफुमाथि अपमान गर्न खोजेको बताउनुभएको थियो ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी आएपछि उहाँको निवासमा भेला भएका नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ताले विरोध प्रर्दशन गरेका थिए ।

उनीहरुले सरकार र प्रहरीविरुद्ध नारावाजी गरेका थिए ।

झाँक्रीलाई दिइएको पक्राउ पूर्जीमा राज्यविरुद्धको कसुरअन्र्तगत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख थियो ।

उक्त दफामा राष्ट्रपति वा सांसदलाई धम्की दिन नहुने उल्लेख छ ।

कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैया जरिवाना वा दुवै सजायँ हुनसक्ने व्यवस्था पनि रहेको छ ।

झाँक्रीले केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिको आलोचना गर्दै अभिव्यक्ति दिनुभएको थियो ।