
काठमाडौं, माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्षता र तटस्थता राखेर काम गर्न आग्रह गर्नभएको ।
आयोगको ३० औं स्थापना दिवसलाई बुधबार काठमाडौंमा संवोधन गर्दै उहाँले जनविश्वास आर्जन गर्न आयोगले निष्पक्षता कायम राख्नु पर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचारीलाई समयकै पहिचान गरी उचित दण्ड दिन सकेमात्र सुशासन कायम हुने बताउनुभयो ।
भ्रष्टाचारको नियन्त्रण हुन नसके समग्र राज्य प्रणाली नै जर्जर बन्ने भन्दै उहाँले यसका लागि आयोग कडाइका साथ प्रस्तुत हुनु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेप नगर्ने भन्दै ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।
केहीले अझै पनि धम्की र त्रास फैलाउन खोजेको भन्दै उहाँले त्रास र भयबाट मुक्त भएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले अख्तियार कहिलेकाँही भ्रष्टाचार नियन्त्रण भन्दा पनि अनुचित ढंगले प्रस्तुत हुने गरेको टिप्पणी गर्दै कानुनको नजरमा सबै समान छन् भनेर काम गर्नु पर्ने बताउनुभयो ।
अख्तियारले निष्पक्ष छानविन गरेर मात्र मुद्दा दायर गर्नु पर्नेमा जोड दिनुभयो ।
अख्तियारको कदमले भ्रष्टाचारीलाई त्रास र असल व्यक्तिलाई अभिभावकको अनुभूति दिलाउनु पर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।
भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उहाँको सुझाव थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताउनुभयो ।
औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।
त्यसैगरी आयोगले गरेको विद्यालय स्तरीय राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई प्रधानमन्त्री ओलीले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्