रामनिवास यादव र राजेन्द्र नापित (इमेज)
काठमाडौं, भदौ २० । विभिन्न कामको सिलसिलामा देशको राजधानी काठमाडौं छिर्नेहरुको संख्या दैनिक हजारौंको संख्यामा छ ।
यही ठाउँलाई आफ्नो कर्मथलो बनाउनेहरुको संख्या पनि उत्तिकै रहेको छ ।
नेपालबाट दैनिक करिब १५ सयको हाराहारीमा युवाहरु कामको खोजीमा विदेशिने गरेका छन् ।
तर, नेपालमै रहेर पनि विभिन्न पेसा/व्यवसाय अंगाल्नेहरुले आफ्नो जीवन राम्रैसँग चलाएको उदाहरण धेरै भेट्न सकिन्छ ।
हेर्दा सामान्यजस्तो लागेपनि त्यस्तै कामबाट आम्दानी गरेर उनीहरुले आफ्नो घरपरिवार सजिलैसँग पालिरहेका छन् ।
काठमाडौंमा कामको खोजीमा आउने एउटा तहका मानिसहरु फलफूल, तरकारी बेच्नेदेखि कपाल काट्ने, कबाडीका सामान संकलन गर्नेलगायतका काममा लागेको भेटिन्छ ।
वर्षौैंदेखि यस्तो काममा सक्रिय उनीहरुको आम्दानी पनि राम्रै रहेको छ ।
कालिमाटीमा वर्षौंदेखि कवाडी संकलनको काम गर्दै आएका मोतिलाल महतोको मासिक आम्दानी २५ हजार रुपैयाँको हाराहारीमा छ ।
आफ्नो कामप्रति उनी खुसी नै देखिन्छन् ।
काठमाडौंमा कपाल काट्ने काममा वर्षौं बिताएका कर्मुल्लाह मियाँले अरुको कपाल काटेरै ६ जनाको परिवार पाल्न सकेका छन् ।
महोत्तरी घर भएका नारायण महराको जुत्ता सिलाएरै महिनाको कमाइ ७ हजारमाथि छ ।
यी केही प्रतिनिधि पात्रमात्र हुन् । जसले सामान्य ठानिएका कामबाट राम्रैसँग आफ्नो गुजारा चलाइरहेका छन् । कामप्रतिको लगाव र मिहिनेतले नै उनीहरुलाई खर्चिलो सहरमा पनि टिकाइराखेको छ ।
प्रतिक्रिया दिनुहोस्