प्रकाश मैनाली
सर्लाही, भदौ २० । सर्लाहीमा फौजी किराले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन् । एक सातादेखि अमेरिकी फौजी किराले बरहथवा, वाग्मती र हरिवन नगरपालिकाअन्तर्गतका सयौँ हेक्टर जमिनमा लगाइएको मकै बाली नष्ट पारेको छ ।
सर्लाहीकै अत्याधिक मकै उत्पादन हुने हजरिया र राजघाटमा फौजी किराले अहिलेसम्म झण्डै १२ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको हाइब्रिड जातको मकै खाएर नष्ट पारेको छ । किराले मकैको बोट नष्ट पारेपछि खाद्यान्नकै अभाव हुने अवस्था आएको बागमती नगरपालिका–६ राजघाटका किसान टंकप्रसाद मैनालीको गुनासो छ ।
औषधि प्रयोग गर्दा पनि किराको प्रकोप नियन्त्रणमा नआएपछि किसान चिन्तित बनेका हुन् । किराको प्रकोप वडा कार्यालयको प्रयासमा मात्रै नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बागमती नगरपालिका–६ का वडाध्यक्ष खड्गबहादुर राईको भनाइ छ ।
फौजी किरा प्रभावित बरहथवा नगरपालिका, बागमती नगरपालिका र हरिवन नगरपालिकमा एक हजार पोकाको दरले किटनाशक औषधि पठाइसकेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । किरा प्रकोप नियन्त्रणका लागि थप प्रयास भएको केन्द्रका बाली संरक्षण अधिकृत दिनेशकुमार यादव बताउँछन् ।
रातको समयमा सक्रिय हुने फौजी किराले मकैको पातबाट खान सुरू गरेर पुरै बोट खाइसक्ने पीडित किसानहरुको भनाइ छ । यसलाई सरोकारवाला पक्षले गम्भीर रुपमा लिनुपर्ने देखिन्छ । यस बिषयलाई लिएर संसदमा समेत कुरा उठेको थियो ।
प्रतिक्रिया दिनुहोस्