२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


मेलम्ची आयोजनामा झडप, प्रहरीद्वारा हवाईफायर, चारजना घाइते


0
Shares

मेलम्ची, भदौ १९ । मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर र प्रहरीबीच झडप भएको छ ।

आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नाका साथै हवाईफायर गरेको छ ।

झडपमा दुई/दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएका इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए ।

झडपमा प्रहरीबाट ६ सेल अश्रुग्यास तथा दुई राउन्ड हवाईफायर भएको छ भने पीडितले ढुंगामुढा प्रहार गरेका छन् ।

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी–साधनमा ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए ।

तोकेको घेरा नाघ्न खोजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । 

त्यसैक्रममा आन्दोलनकारीले एक्कासि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाईफायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए ।

आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो ।

अम्बाथानमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्यलगायतको टोलीसहित एकैपल्ट जाने भनिए तापनि आन्दोलनकारीले पर्खन नसक्ने भन्दै ढुंगामुढा प्रहार गरेपछि घटनाले उग्ररुप लिएको हो । रासस