काठमाडौं । दिगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलन काठमाडौं सुरु भएको छ ।
राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले आयोजना गरेको सम्मेलनको आज उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देश विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले आर्थिक विकासको संवाहक निजी क्षेत्र हो भनेर सरकार बोलिरहेको मात्र नभई कानूनी रुपमा समेत त्यस्तो वातावरण बनाएको जिकिर गरे ।
रक्षामन्त्री पोखरेलले विकासमा निजी क्षेत्रको भूमिकालाई नितिगत रुपमै समेटिएको उल्लेख गरे ।
उनले सम्मेलनको निष्कर्षको अध्ययन गरी संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी सम्मेलनमा नेपालले गरेको प्रगतिबारे जानकारी गराइने बताए ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले संस्कृतिलाई आर्थिक, सामाजिक, राजनीतिक विकास र एकतालाई समेत जोडेर हेर्नु पर्नेमा जोड दिए ।
उनले लामो समयसम्म पनि मेलम्ची आयोजना सम्पन्न हुन नसकेकोमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
एविआईका अध्यक्ष पद्य्म ज्योतिले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको समेत योगदान आवश्यक पर्ने बताए ।
उनले व्यवसाय जिम्मेवार हुनुपर्नेमा जोड दिदै सफल व्यवसायले सफल समाज निर्माण गर्न सक्ने धारणा राखे । दुई दिने सम्मेलनमा १६ वटा विषयमा ६४ जना वक्ताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।
प्रतिक्रिया दिनुहोस्