Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


‘कमल पोखरीको अतिक्रमित क्षेत्र फिर्ता नलिए छाँयादेवी कम्प्लेक्स बन्न सक्छ’ (भिडियो)


13
Shares

नरेन्द्र मानन्धर (इमेज)

काठमाडौं, माघ २५ । ४८ रोपनीको ऐतिहासिक सिमसार कमल पोखरी अहिले २२ रोपनी क्षेत्रफलमा खुम्च्याइएको छ ।

महानगरपालिकाले पुननिर्माणको नाममा पोखरी खुम्च्याइएर कंक्रिटको संरचना बनाउन थालेपछि २० रोपनीभन्दा पनि कम हुनसक्ने विज्ञहरुको दावी छ ।

उनीहरुले अतिक्रमित क्षेत्र फिर्ता लिएर मात्र पोखरी प्राकृतिक रुपमा संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

सिमसार कमलपोखरीको अतिक्रमण गर्नेमा व्यक्तिहरुदेखि सरकारी निकायहरु समेत रहेका छन् ।

वि.सं २००१ सालको नापीमा ४८ रोपनी भन्दा बढी रहेको पोखरी वि.स. २०३३ सालमा नापी हुदाँ विभिन्न व्यक्तिहरुलाई घुसाई नापी गरेको र करीब ३० रोपनीमा सिमित गरेको देखिएको छ ।

वि.स. २०३६ सालमा पोखरी मिचिएको गुनासो आएपछि दरवारबाट निर्देशन बमोजिम सर्वे गरिएको थियो ।

तत्कालिन नापी विभागका महानिर्देशक अर्जुन बहादुर बस्नेतले सर्वेअर श्याम बहादुर मुल्मीलाई सर्वे गर्न लगाउँदा पोखरी चारै तिरवाट अतिक्रमणमा परेको पाइएको थियो ।

तत्कालीन नापी अघिकृत एवं वरिष्ठ सिमाविद् बुद्धि नारायण श्रेष्ठले विभिन्न मन्दिरमा चढाउन कमलको फूल फुल्ने कमल पोखरी पौराणिक र साँस्कृतिक महत्वको रहेको बताउनु हुन्छ ।

यसका लागि अतिक्रमित क्षेत्र फिर्ता लिएर मात्र प्राकृतिक स्वरुमा संरक्षण गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

पछिल्लो समय त पोखरी मात्रै २२ रोपनीमा सिमित भएको र पानीले ओगटेको क्षत्रे २० रोपनी भन्दा कम रहेको छ ।

तत्कालिन नापी अघिकृत राजेन्द्र प्रसाद मराठाले कमलपोखरी राष्ट्रिय धरोहर र सम्पति भएको बताउनुहुन्छ ।

यसको अतिक्रमित क्षेत्र फिर्ता लिएर संरक्षण नगर्ने हो भने उपत्यकाका अन्य पोखरी जस्तै अस्तित्व नै लोप हुन सक्ने चेतावनी पनि उहाँले दिनुभयो ।

पर्यावरणीय, जैविक र भूमीगत पानीको प्राणलीलाई सुरक्षित वनाउन पनि पोखरीलाई पुरानै स्वरुपमा फर्काउनु पर्ने विज्ञहरुको सुझाव छ ।

अभियन्ता आलोक सिद्धि तुलाधार भन्नु हुन्छ, ‘पोखरीको अतिक्रमित क्षेत्र फिर्ता नलिने हो भने ठमेलको कमलपोखरी मासिएर छाँयादेवी कम्प्लेक्स बनाए जस्तै हुन बेर लाग्दैन ।’

मिचिएको क्षेत्र फिर्ता लिएर कमल पोखरीको संरक्षण नगर्ने हो भने भविश्यमा कमलपोखरी मात्रै होइन यस्तै अन्य ऐतिहासिक सम्पदाहरुमा कंक्रिटका छाँयादेवी कम्प्लेकस ठडिेनेमा शंका छैन् ।

तसर्थ पोखरीलाई अतिक्रमणबाट मुक्त गर्नका लागि स्थानीय संघर्षशील र जागरुक हुन जरुरी भइसकेको छ ।

भिडियो हेर्नुहोस्