२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


एनआरएन युकेमा चुनावी रौनक : शेरबहादुर र पुनम मैदानमा


0
Shares

लण्डन । आगामी १४ सेप्टेम्बर (भदौ२८) मा हुन गइरहेको गैरआवसीय नेपाली संघ(एनआरएन) युकेको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ ।

अध्यक्षको प्रत्यासी शेरबहादुर सुनार र पुनम गुरुङले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् । दुवैले आफ्नो पक्षमा माहोल दरिलो बन्दै गइरहेको दावी गरेका छन् ।

अध्यक्षका लागि पाँच दाबेदार मध्ये प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले चुनावी मैदानमा नजाने र अध्यक्षमा सुनारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनावी माहोल फरक र रोचक बन्दै गइरहेको छ ।

परम्परागत भन्दा पृथक नेतृत्व र महिलाको प्रतिनिधित्वको आवाज उठाउँदै पुनमले आफूले चुनाव जित्ने दावी गर्दै भोट मागिरहेकी छन् भने सुनारले विभिन्न माध्यमबाट धेरै बर्ष नेपाली समुदायकै सेवामा समर्पित भएकाले बहुसंख्यक मतदाताको रोजाइमा आफू परेकाले जित निश्चित भएको दावी गरिरहेका छन् ।

एनआरएन स्थापनाकालदेखि हरेक कार्यकालमा सल्लाहकारको जिम्मेवारी समाल्दै आएको र हाल एनआरएन यूकेको उपाध्यक्षको जिम्मेवारीमा रहेकाले अबको बाटो अध्यक्ष बाहेक अन्यत्र नहुने भन्दै सुनारले नेतृत्वका लागि दाबी गरेको बताएका छन् ।

एनआरएन स्थापनाको संस्थापक पञ्जीकृत सदस्य भएको नाताले एनआरएन यूकेमा आफ्नो अथक योगदान र क्रियाशिलता साथै शसक्त एजेन्डा अगाडी सारेकाले अध्यक्षमा आफ्नो जित निश्चित हुनेमा सुनार विश्वस्त छन् ।

बेलायतका सक्रिय समाजसेवी र बुद्धिजीवीलगायत प्रभावशाली समूहको साथ र समर्थन रहेको साथसाथै एनआरएन बेलायतको १६–१७ वर्षको इतिहासमा पहिलो पटक महिला आकांक्षी रहेकाले मतदाताले माया गर्नेमा पुनम विश्वस्त छिन् ।

गैर आवासीय नेपाली संघ यूकेको सदस्यता वितरण संयोजक रहेका सुनारले २०१७ देखि २०१९ कार्यकालमा सबैभन्दा ठूलो काम सदस्यता विस्तार अभियानलाई जोड दिएकाले बहुसंख्यक सदस्यहरुसँग आफू प्रत्यक्ष जोडिन पाएको, १० हजार पञ्जीकृत सदस्यता बढाउने अभियान संचालन गरेर एनआरएन यूके विश्वकै ठूलो बनाउन सफल भएको सुनारको दावी छ ।

दुःख-पीडामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई निरन्तर सहयोग गरेको, अल्डर्सट, फ्रान्बोरो र कम्बेरली वरपरका क्षेत्रमा पीडामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई तथा अंग्रेजी भाषा बोल्न नजान्नेहरुलाई नेपालीमा दोभासे गरिदिने, स्वस्थ उपचारको लागि जीपी लगिदिने, बैंक अकाउण्ट खोल्न नसकेकाहरूलाई बैंक अकाउण्ट खोलिदिने, बेनिफिट नपाएकाहरुलाई स्थानीय काउन्सिलमा सम्पर्क गरी बेनिफिट दिलाइदिने, हाउजिङ बेनिफिट नपाएकाहरुलाई हाउजिङ तथा घर मिलाइदिने लगायत खान र बस्न नपाएकाहरुलाई घरमै लगेर खान बस्न दिएर पून्य काम गरेकाले आफू मतदाताको रोजाइमा परेको सुनारको भनाई छ ।

यता, सन् २००९ देखि तमुधिंयुकेमा आवद्ध अध्यक्षकी प्रत्यासी पुनम सन् २०१३ मा तमुधिं युकेको आमा समुहको संस्थापक भएकै बेला एनआरएन युकेको महिला विभागको उपाध्यक्ष बनेर सक्रिय भूमिका निर्वाह गरेका कारण आफूलाई धेरै मतदाताको साथ रहेको दाबी गरिरहेकी छन् । यसपटक उनी युकेको नेतृत्वमा पुगेर इतिहास रच्ने दाउमा छिन् ।

विभिन्न मानवीय र मनकारी कार्य गरेर लोकप्रियता हासिल गरेका शेर सुनारले बेलायतका एक दर्जन भन्दा बढी संघ–संस्थामा आवद्ध भइ सेवा गरेको साथै एनआरएनएको सदस्यता नबिकरण गर्ने तथा नयाँ सदस्यता बनाउने प्रमुख संयोजकको जिम्मेवारी सफलापूर्वक पुरा गरी झन्डै १४ हजार सदस्यता बनाएर इतिहास रचेको दावा गरेका छन् ।

दोहोरो नागरिकता र गोर्खाहरुको पेन्सनको एजेन्डामा सक्रियता देखाएको, नेपालमा लगानी भित्र्याउन बहस चलाएको साथै एनआरएन युकेमा बरीयताका हिसाबले पनि आफू अगाडी रहेकाले आफूलाई अध्यक्षमा सबैले सहयोग गर्ने आशा सुनारले गरेका छन् ।

यता एनआरएन युकेको निर्वाचन आयोगमा बुझाइएको कुल १३ हजार ५६२ मतदातामा आफू र आफ्नो टीमले ६ हजार १०० सदस्य मतदाता बनाएको दाबी गर्दै पुनमले यसपटक युकेमा महिला नेतृत्व चयन हुनेमा विश्वस्त रहेको बताउँछिन ।

तर यता राजनीतिक, क्षेत्रीय र जातीय आधारमा मत विभाजन नगराइ वा सहमतिका आधारमा शेर सुनारलाई अध्यक्ष र पुनम गुरुङलाई सम्मानजनक स्थानमा अघि बढाउन एनआरएनका शुभेच्छुकहरुले बहस पनि चलाइरहेका छन् ।