२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


२० लाख किलो भन्डारण क्षमताको शीतभन्डार अलपत्र


0
Shares

प्रकाश नेपाल (इमेज)

इलाम, भदौ १७ । फलफूल तथा नगदेबाली सुरक्षित राख्नका लागि इलाममा निर्माण गरिएको शीतभन्डार अलपत्र बनेको छ ।

शीतभन्डार सन्चालनका लागि पटक–पटक ठेक्का आह्वान गरे पनि कोही नआएकाले किसानलाई उत्पादन सुरक्षित गर्न विराटनगर पुग्नुपर्ने बाध्यता छ ।

करोडौं रुपैयाँको लागतमा ८ वर्षअघि इलाममा निर्माण गरिएको शीतभन्डार उपयोगविहीन हुँदा कृषकलाई समस्या परेको छ ।

शीतभन्डार सन्चालन गर्ने कोही पनि नहुँदा उत्पादित बाली विराटनगरमा लगेर भन्डारण गर्नुपर्दा ठूलो सास्ती भएको हो ।

भारतीय दूतावासको सहयोगमा निर्मित उक्त शीतभन्डारमा २० लाख किलो भन्डारण क्षमता रहेको छ ।

सन्चालनका लागि पटक–पटक ठेक्का आह्वान गरे पनि कोही नआएकाले समस्या भइरहेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहको भनाइ छ ।

निर्माण गर्ने बेला नै डिजाइनमा त्रुटि भएका कारण ‘मल्टी च्याम्बर’ नहुँदा सन्चालन गर्न कोही इच्छुक नभएको स्थानीयले बताउँदै आएका छन् ।

तर, नगरपालिकाले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

यसअघि, वार्षिक तीन लाख रुपैयाँमा पाँच वर्षका लागि काठमाडौंका जनक रिजाललले ठेक्का लिएका थिए । तर, उनले सन्चालन गर्न नसकेपछि अहिले बन्द अवस्थामा छ ।

‘कोल्डस्टोर’ सन्चालनमा ल्याउनसके कृषि उत्पादनले उचित मूल्य पाउने स्थानीयको अपेक्षा छ ।

अर्कोतिर सन्चालनमा नआउँदै कोल्डस्टोर भत्किन थालेको छ भने जडित यन्त्र, उपकारणमा पनि खिया लाग्न थालेको छ ।

एकपटकमा एकै किसिमका उत्पादनमात्र भन्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले सन्चालन गर्न समस्या भएकाले मल्टिच्याम्बर बनाउनुपर्ने सरोकारवालाको सुुझाव छ ।

भिडियो हेर्नोस्