Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


पोखरामा ताजा तरकारी र फलफूल राख्ने शीत भण्डार सञ्चालनमा


0
Shares

पोखरा । ताजा तरकारी फलफूल राख्नका लागि नेपालमै पहिलो पटक पोखरा कृषि शीत भण्डार संचालनमा आएको छ ।

प्रदेश सरकारको साढे २ करोड सहयोग र निजी क्षेत्रबाट ४ करोड रुपैयाँ गरी कुल साढे ६ करोडमा सो शीत भण्डार संचालनमा आएको हो ।

पोखरा-१४, चाउथेमा लेखनाथ पौडेल, राजेशकुमार कार्की र अमरबहादुर बानियाँ गरी ३ जनाको टोलीले साढे ६ रोपनी जग्गा भाडामा लिएर यो शीत भण्डार संचालनमा ल्याएका हुन् ।

यस भण्डारमा ताजा तरकारी, फलफूल विषादी रहित तवरबाट पकाउन र लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको गण्डकी प्रदेशमा ११ वटा शीत भण्डार स्थापना गर्ने लक्ष्य अनुरुप कास्की जिल्लाको पोखरामा यो संचालन गरिएका हो ।

साढे ३ सय मेट्रिक टनसम्म राख्न सक्ने क्षमताको शीत भण्डारमा केरा पकाउनका लागि ३ देखि ७ दिनसम्म लाग्ने व्यवस्थापक रामप्रसाद खतिवडाले जानकारी दिए ।

यो शीत भण्डार संचालनसँगै कृषकले उत्पादन गरेका तरकारी र फलफूलले उचित मूल्य नपाउँदा कुहिने र बिलौलियाले बढी फाइदा लिने अवस्था अन्त्य हुने संचालक लेखनाथ पौडेलले दाबी गरे ।

कोल्डस्टोरेज सञ्चालनमा आएसंगै पोख्रेलि उपभोक्ताले विष राखेर पकाएको केराहरु नभई तापक्रम बाट पकाईएका केराहरु खान पाउने जनाइएको छ ।

केरालाई फलफूलहरुले फाल्ने ग्यास संकलन गरी सोही ग्यासमार्फत एसीको सहयोगमा पकाउन सकिनेछ । हाल बजारमा आउने अधिकांश केराहरु विषादी प्रयोग गरी पकाएर बेचबिखन गर्ने प्रवृत्ति छ ।

केरा पाक्न ३६ घण्टा देखि ४८ घण्टासम्म समय लाग्छ । केरा पकाउनका लागि प्रति क्यारेट ४० देखि ५० रुपैंयासम्म पर्ने सञ्चालक पौडेलले बताए ।

स्याउ स्टोर गर्नेका लागि प्रति केजि ५ देखि १० रुपैंयामा राख्ने व्यवस्था मिलाएको उहाँको भनाई छ ।

सित भण्डार सञ्चालना आए देखि सिजनएबल तरकारीहरुलाई पनि स्टोर गर्न सकिने छ ।

यसबाट तरकारीको आयु बढाउन व्यापारीहरुले प्रयोग गर्ने विषको पनि अन्त्य हुने विश्वास गरिएको छ ।

पोखरामा आलुको स्टोर गर्नका लागि पश्चिमाञ्चल कोल्डस्टोर सञ्चालनमा रहेको छ भने लेखनाथको बुढिबजारमा मालिका एग्रो कोल्डस्टोरेज सञ्चालनको तयारीमा रहेको छ ।