पाल्पा, भदौ १६ । पाल्पाको मुख्य बालीकारुपमा स्थापित मकैको बीउमा किसानलाई आत्मनिर्भर बनाउन प्रदेश र स्थानीय सरकारले पहल सुरु गरेका छन् ।
कृषकलाई बीउमा आत्मनिर्भर र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले छहरा गाउँपालिकाले आर्थिक र प्राविधिक सेवा उपलब्ध गराउन थालेको छ ।
परम्परागत र स्थानीय जातको मकै खेती गर्दा उत्पादकत्वसमेत ह्रास हुँदै गएका बेला ‘उन्नत मनकामना ३’ जातको मकैको बीउ प्रयोग गरी व्यावसायिक खेतीको थालनी गरिएको हो ।
गाउँपालिकाले साविकको छहराको क्यूरेनी कृषक समूहका २७ घर–परिवारका सदस्यहरुलाई परम्परागत बीउको विकल्पमा उन्नत जातको मकैको बीउको प्रयोग गराएर व्यावसायिक खेतीको थालनी गरेको छ ।
गाउँपालिकाले कृषकहरुलाई आर्थिक तथा प्राविधिक सहयोगका अलावा, मकै छोडाउने मेसिन, ‘प्याकेजिङ’का लागी आवश्यक सामग्री, बीउ सुकाउन त्रिपालमा पनि सहयोग पुर्याएको छ ।









प्रतिक्रिया दिनुहोस्