२ असार २०८२, सोमबार | Mon Jun 16 2025


४ सय केभीको ढल्केवर सबस्टेसनको उद्घाटन हुँदै


0
Shares

काठमाडौं । चार सय केभीको ढल्केवर स्वचलित सबस्टेशनको सोमबार धनुषाको ढल्केवरमा औपचारिक उद्घाटन हुँदैछ ।

गत कात्तिक २६ गते नै सबस्टेशन पूर्ण रूपमा चार्ज गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्न लागेको विद्युत प्राधिकरणले जनाएको छ ।

उद्घाटन समारोहमा भारतको तर्फबाट विद्युत् व्यापार कर्पाेरेशन, पावर ग्रीड इन्डियाका पदाधिकारीहरूको पनि उपस्थिति हुने बताइएको छ ।

प्राधिकरणले २२ करोड ४३ लाख रुपैयाँको लगानीमा सबस्टेशन निर्माण गरेको हो ।

प्राधिकरणले २०१७ डिसेम्बरमा लिन्सन इन्डिया प्रा लि (साविकको एबीबी इन्डिया लिमिटेड) लाई उक्त सबस्टेशन बनाउन जिम्मा दिएको थियो ।

कम्पनीले सबस्टेशन निर्माण गरिसकेपछि औपचारिक उद्घाटन गर्न लागिएको हो ।

सबस्टेशन सञ्चालनमा आएसँगै ४०० केभीको ढल्केवर मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल र भारतबीच १ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिनेछ ।

साथै, ४०० केभीकै हटौंडा ढल्केवर प्रसारण लाइनबाट २ हजार मेगावाट र इनरुवा ढल्केवर ४०० केभी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।

सोही सबस्टेशनमा रहेको ढल्केवर र २२०–१३२ केभी सबस्टेशनलाई प्रयोग गरेर खिम्ती ढल्केवर प्रसारण लाइनबाट ६०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिनेछ ।

हालै क्षमता विस्तार गरिएको अर्काे २२०–१३२ केभीकै सबस्टेशनलाई प्रयोग गरेर पनि ६०० मेगावाट विद्युत् २२० केभीबाट १३२ केभीमा तथा १३२ बाट २२० केभीमा आदानप्रदान गर्न सकिनेछ ।