२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन, रकम फ्रिज


0
Shares

सिन्धुली । सिन्धुलीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न नसक्दा कार्यक्रमको रकम खर्च हुन नसकी फ्रिज भएको छ ।

सिन्धुलीका बेरोजगार युवाहरुलाई कम्तीमा एक महिना रोजगार दिने उद्देश्यले गत आर्थिक वर्ष ०७५/७६ मा पहिलो पटक जिल्लामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम केही स्थानीय तहमा फ्रिज भएर गएको छ भने केही स्थानीय तहहरुमा दुरुपयोग भएकोे छ ।

घ्याङलेख गाउँपालिकाका लागि निकासा भएको १३ लाख रुपैँया सम्बन्धित कार्यक्रममा खर्च नभइ फिर्ता जाँदा बेरोजगार युवाले रोजगार कार्यक्रमको अनुभूति गर्न पाएनन् ।

सरकारले बेरोजगारका लागि स्वदेशमै श्रम गरेर जिविकोपार्जन होस् भन्ने उद्देश्यले बजेट पठाए पनि समयमै रोजगार संयोजक उपलब्ध नहुँदा धेरै स्थानीय तहका प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फ्रिज भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिन्धुलीमा करिब ३ करोड ८३ लाख रुपैया भने नाला सफा गरेर, झार उखेलेर र ग्राभेल बिच्छ्याएर खर्च गरिएको जनाईएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम राजनीतिक दल, स्थानीय तहका नेता र वडाध्यक्षहरूसँग पहुँच हुनेहरूले एक महिना काम गरेर रकम लिए पनि गरिब र बेरोजगारले काम नपाएको बताइएको छ ।