२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


अबुधाबीको साँगुरो कोठा भित्र तीजका भाकामा छमछमी


0
Shares

-दुसवी भट्टराई

युएइ । सागुरो कोठाभित्र तीजका गीतहरु घन्किरहेका छन् । सारी लगाएका नारीहरु छमछम नाचिरहेका छन् । त्यो सागुरोपनले तीजको रहर छेक्न सकेको छैन । युएइ अबुधाबीको हमदानमा विदाको दिन गरेको रमाइलोले नेपाली परम्पराको सम्झना मात्र गराएन पुरा नेपालीहरुको एकता र आत्मियताको आभास पनि गरायो । परदेशको ठाउँमा व्यस्त समयको बाबजुद भएको यो जमघटमा मात्र नेपाली छन्, जहाँ कुनै जातीयता विभेदका छिटा छैनन् ।

परदेशीने सबैका आ-आफ्ना बाध्यता छन् । तर ती बाध्यताको खासीयत पारिवारिक आर्थिक अवस्था सुधार र दैनिक अफ्ठ्याराहरुको समाधान नै हो । जे जस्तो भएपनि सबै मिलेर रमाइलो गर्दा परिवारको बिछोडमा नरमाइलो भएको मन साथीभार्इको बीचमा केहीबेर रमाइलो हुन्छ ।

तीजको माहोल त एक साता अघिबाटै सुरु भइसकेको हो । प्रवासमा दैनिक कार्यव्यस्ततालाई ब्यवस्थापन गर्न त्यति सहज छैन । हिन्दुहरुको चाडपर्व विदेशमा अन्य धर्मावलम्बीहरुका निम्ती खासै महत्व राख्दैन् । त्यसैले विदा मिलाएर तीज मनाउनुपर्ने बाध्यता छ । दुवईमा जीवनयापन गरिरहेकी रन्जना भुजेलको यस्तै बाध्यता छ । ‘यसपाली तीज सोमबार(भदौ १६ गते) हो तर दर शुक्रबार नै खाएको किनकी शनिबारबाट काममा जानुपर्छ’, रन्जनाले आफ्नो सेड्यूल सुनाइन । आफ्नो काखको छोरो आमा बुबाको साथ छोडेर परदेशमा काम गर्दै गरेकी रन्जनाले यसपाली साथीसँग रमाएर छुटटी मनाइन र तीजमा छमछमी नाचिन ।

‘आफनो गाउँघरमा मनाएजस्तो रमाइलो त परदेशमा कहाँ हुन्छ र ?’ मुना चापागाई भन्छिन् । ‘भेला भएका मध्ये सबै अलग अलग ठाउँबाट आएका छौं, कतिको त पहिले चिनजान पनि थिएन तर एक जनाको चिनजानले सबैसंग रमाइलो भेट भयो चिनजान भयो र रमाइलो भयो’, उनले तीजको रमाइलो अनुभुती सुनाइन । तीजको दिन आफ्नो गाउँघरमा सबैजना भेला भएर पूजा लगाउने र निराहार बस्छन् तर विदेशी भूमिमा सार्वजनिक विदा मिल्दैन । छुट्टि पाइँदैन् । त्यो दिन हामी सबैको काममा जानुपर्छ । अर्काको देश खाना नखाइ काम गर्दा बिरामी भएमा आफैंलाई अफठेरो हुन्छ ।

कामदार वा व्यवसायका सिलसिलामा विदेशीएका नारीहरु आफ्नो साँगुरो डेरा वा कुनै सार्वजनिक स्थलमा तीजका भाकामा रमाइरहेका छन् । बुताले भ्याएसम्म मिठो मसिनो पकाएर सामूहिक भोज गरिरहेका छन् । गाउँघर सम्झिएर परदेशमा तीजको रमाइलो गरिहेका छन् नेपाली नारीहरु ।