
काठमाडौं, साउन ६ । आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएलगत्तै केही वस्तुमा बढाइएको करको दरले वस्तुको भाउ बढ्यो ।
साउन १ गतेदेखि नयाँ बजेट कार्यान्वयनमा आएपछि दैनिक उपभोग्य वस्तुको भाउमा वृद्धि आयो । जसले मूल्यवृद्धिका कारण सर्वसाधारण ठूलो मर्कामा परेका छन् ।
सुर्तीजन्य तथा मदिराजन्य पदार्थमा भएको मूल्यवृद्धिले निश्चित व्यक्तिलाई असर गरेको छ । तर, दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले भने आमसर्वसाधारणलाई प्रत्यक्ष असर पारेको छ ।
तर, उपभोक्ताकर्मीहरु भने बजारमा व्यवसायीले कर बढेको बहानामा कृत्रिम मूल्यवृद्धि गरेको भन्दै प्रभावकारीरुपमा बजार अनुगमन गर्न आग्रह गर्छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन जेठ १५ गते बजेट घोषणा भएसँगै जेठ १६ देखि नै बजार महँगिएको बताउँछन् ।
व्यापारीहरुले केही वस्तुमा कर बढेको बहानामा आफूखुसी अन्य उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेर उपभोक्तामाथि लुट मच्चाएको उनको आरोप छ ।
आफ्नो संस्थाले यसबारे बजार अध्ययन गरेर प्रतिवेदन नै बुझाएपनि सरकारले बेवास्ता गरेको महर्जनको दाबी छ ।
दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, गेडागुडीको भाउ अकासिएको छ ।
करको बहानाबाजीमा बजारमा अझै कृत्रिम मूल्यवृद्धि हुनसक्ने भन्दै समयमै प्रभावकारी बजार अनुगमन गर्न उपभोक्ताकर्मी एवं उपभोक्ताले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्