काठमाडौं, भदौ १३ । भारतको कोलकाता बन्दरगाहमा नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सीएफएस) सन्चालनमा आएको छ ।
नवनिर्मित सीएफएसको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गरेका हुन् ।
सीएफएस ‘ट्रान्जिट’ बन्दरगाहनजिक मालवाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि बढाउन प्रयोग हुने निश्चित ठाउँ हो ।
कोलकाता बन्दरगाहलाई सहज र सुव्यवस्थित बनाइ आयात–निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्नेतर्फ पहल गर्नुपर्ने आवाज महासंघले उठाइरहेको सन्र्दमा नेपालको आफ्नै सीएफएस सन्चालनबाट ठूलो राहत पुग्न जाने विश्वास महासंघको छ ।
आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अब कम खर्चमै कार्गो राख्नसक्ने छन् । उक्त सीएफएसमा करिब ५०० कन्टेनर राख्न सकिने बुझिएको छ ।
समारोहमा महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको आफ्नै सीएफएस सन्चालनबाट ठूलो राहत पुग्ने बताए ।
कोलकातामा आयातकर्ताले सीएफएस भाडावापत् प्रतिटन/प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहत हुने उनको दाबी छ ।
यसले व्यवसायीको लागत घट्न गइ नेपाली उपभोक्ता लाभान्वित हुने उनले बताए ।
२०७५ फागुन ३ गतेदेखि तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुँदै रेलमार्गबाट नेपालका लागि आउने सामान ‘क्लियर’ गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाइ विद्युतीय कार्गो ‘ट्रयाकिङ’ प्रणाली लागू भएको छ ।
यसबाट नेपालको आयात–निर्यात व्यापारमा क्रमशः सुधार हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्