१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


शहिदभूमि र पिलियाटारवासीको पानी सपना पूरा हुँदैं


0
Shares

विकास घिमिरे
धनकुटा । धनकुटाको सुख्खा क्षेत्र शहिदभूमि गाउँपालिकामा पर्ने गोपालपुर र पिलियाटारमा लिफ्ट सिंचाई योजनामार्फत पानी पुग्ने भएको छ । पानीको अभावका कारण काकाकुल झै बनेका पिलियाटारबासी चाडै नै पानी पिउन पाइने आशामा छन् ।

प्रदेश सरकारको झण्डै तीन करोड रुपैयाँको लागतमा धनकुटाको सुख्खा क्षेत्र शहिदभूमि गाउँपालिकाको गोपालपुर र पिलियाटारमा लिफ्ट प्रविधिबाट सिँचाइ हुने भए पछि स्थानीय दंग परेका छन् । आफ्नै जग्गाको सिमाना भएर बग्ने नदिलाई हेरेर आफ्नो जग्गा बाँजो राख्न बाध्य भएका यहाँका स्थानीय सिँचाई आयोजना संचालनमा आउने भए पछि आफ्नो जग्गा सिंचित हुने आशामा देखिन्छन् ।

पानी आउने भएपछि लामो समय पछिको उनीहरुको पानी सपना समेत पुरा हुने भएको छ । यो सिंचाई योजना सम्पन्न भए पछि यहाँका बाँजो जमिन लाई हराभरा बनाउने उनीहरुको रहर छ ।

पानीको स्रोत नभएका नदी आसपासका स्थानको पहिचान गरी सिंचाई सुविधा पु¥याउने उद्धेश्यले लिफ्ट सिचाई आयोजना सुरु गरिएको हो । एक नम्बर प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउन लागेको लिफ्ट सिंचाई योजनाको काम ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भई सकेको छ ।

यो क्षेत्रमा ठूल– ठूलाटार भए पनि सिंचाई अभावका कारण आकासे पानीको भरमा खेतीगर्नु पर्ने बाध्यता छ । प्रदेश सरकाको १ करोड ८१ लाख रुपैयाको लागतमा गोपालपुरमा २७ हेक्टर जमिन सिंचितहुने गरि तमोर नदि बाटपानी तान्न सोलार सिस्टमको प्रविधि जडान गर्ने काम भईरहेको छ ।

यस बाट २ सय ५ घरधुरी लाभान्वित हुनेछन । त्यस्तै १ करोड ५ लाख रुपैयाको लगानीमा पिलियाटारमा सञ्चालनमा रहेको सिंचाई योजनाबाट १५ हेक्टर जमिन सिंचितहुने जलस्रोत तथा सिंचाई विकास डिभिजन धनकुटाका प्रमुख कुशल गौतमले जानकारी दिनुभयो ।

अरुण र तमोर नदी बग्ने बेसी फाँटमा ठुल–ठूला टारहरु रहेका छन् । ती फाँटहरुमा समेत सिंचाई सुविधा पु¥याउन आवश्यक देखिन्छ । त्यसैले पनि यो आयोजनाबाट एकातिर काकाकुल झै बनेका पिलियाटारबासीको प्यास मेट्ने देखिन्छ भने अर्कोतिर नदी किनार छेउका मरुभूमि झै बनेका जग्गामासमेत सिंचाई सुविधा पुग्ने देखिन्छ ।