
काठमाडौं, साउन ६ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न जाने छात्राहरुको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन् ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री तामाङले आफ्नो अभिव्यक्तिबाट छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमायाचना गरेका हुन् ।
बंगलादेशमा करिब दुई हजारभन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत् रहेको र ती विद्यार्थीहरुले भोग्नुपरेका केही समस्यालाई आफूले उजागर गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाली छात्राले बंगलादेशमा अध्ययनरत् रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीकारुपमासमेत रहेको मन्त्री तामाङले उल्लेख गरेका छन् ।
मन्त्री तामाङले साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीका एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई सम्बोधन गर्नेक्रममा बोलेका कुरा सन्चारमाध्यममा सम्प्रेषण भएकाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘महिलाहरुको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा मेरो सदैव प्रतिबद्धता र क्रियाशीलता रहिरहनेमा सबैलाई विश्वास दिलाउन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्