दुर्घटना न्यूनीकरण गर्न टिपरलाई 'टाइमकार्ड'(भिडियो) • Image Khabar Image Khabar


दुर्घटना न्यूनीकरण गर्न टिपरलाई ‘टाइमकार्ड'(भिडियो)


Imagekhabar
११ माघ २०७७, आईतवार ११:०६

दुर्घटना न्यूनीकरण गर्न टिपरलाई 'टाइमकार्ड'(भिडियो)

प्रदिप आचार्य

बुटवल । बुटवलमा तीव्र गतिमा गुड्ने टिपरका कारण सडक दुर्घटना ह्वात्तै बढेको छ । यस्ता दुर्घटना कम गर्न ट्राफिक प्रहरीले टाईमकार्ड संगै लेन अनुशासनमा समेत कडाइ गर्न थालेको छ ।
टिप्पर तिव्र गतिमा गुड्दा लुम्बिनी प्रदेशमा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले टाईमकार्डमा कडाई गरेको हो ।

टाईमकार्ड लागु भएपछि टिप्परलाई पाल्पाको दोभानदेखि बुटवलको धागोकारखाना (रामनगर)सम्म प्रतिघण्टा २० को गतिमा सवारी सञ्चालन गर्न ट्राफिक कार्यालयले निर्देशन दिएको छ । त्यस्तै धागोकारखाना देखि नवलपरासी (पश्चिम)को सुनवल र बुटवलदेखि भैरहवासम्म प्रतिघण्टा ३० को गतिमा सञ्चालन गर्नुपर्ने छ ।

यी सडकमा सञ्चालन रहेका टिप्परले तोकिएको स्थानमा अनिवार्य रुपमा टाईम कार्ड देखाउने तथा ईन्ट्री गराउनु पर्नेछ । चेकप्वाईन्टमा ईन्ट्री नगराई भागेमा वा तोकिएको समयभन्दा चाँडो आउने जाने गरेमा जरिवाना गरिने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक डम्बरबहादुर बिकले बताउनुभयो ।

कोरोना भाईरस महामारीका कारण बन्द भएका सवारी साधन सञ्चालनको चाप पुरानै अवस्थामा फर्किसकेको र तीव्र गतिमा सवारी सञ्चालन गर्ने, सवारी सञ्चालन गर्दा लापरवाही गर्ने गरेको गुनासो आएपछि सम्भावित दुर्घटना न्यूनिकरणको लागि टिप्परलाई टाईमकार्ड लागु गर्नुको साथै लेन अनुशासन कार्यान्वयनलाई प्रहरीले कडाई गरेको हो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले लुम्बिनी प्रदेशमा अंघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुर्घटना संख्या झण्डै १३ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा ५ सय ६६ वटा दुर्घटना भएको थियो भने चालु आर्थिक वर्षको साउन देखि पुस महिनासम्म ६ सय ३७ वटा दुर्घटना भई सकेका छन् ।

कोरोना भाईरस महामारीका कारण न्यून संख्यामा सवारी साधन सञ्चालन भएपनि दुर्घटना भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बढेको देखिन्छ । सवारी दुर्घटनामा परि अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा २ सय ७६ जनाले ज्यान गुमाएका थिए भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ सय ५६ जनाले ज्यान गुमाई सकेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नै १ लाख ३४ हजार ७ सय २० सवारीलाई कारवाही गरीसकेको छ । पछिल्लो समय भएका सबै दुर्घटना तीव्र गतिको टिप्परको कारण भएको भन्दै ट्राफिक प्रहरीले यसमा नियन्त्रण गरेको हो ।

त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्‍याउन सके सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि सहयोग पुग्ने ट्राफिक प्रहरीको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्