१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रोजगारी गुमाउनेलाई ‘गाउँ फर्क प्याराप्यारी’ अभियान


0
Shares

पर्वत । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ ले वैदेशिक रोजगारीमा पुगेका धेरै नेपालीको रोजगारी गुमेको छ । विदेशमा भएको रोजगारी गुमेपछि गाउँघर फर्कन चाहे पनि फेरि उही रोजगारीको चिन्ताले धेरै उतै बसेका छन् । तर पर्वतको महाशिला गाउँपालिकाले भने कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका युवायुवतीलाई गाउँमै रोजगारी दिन थालेको छ ।

‘गाउँ फर्क प्याराप्यारी’ अभियानअन्तर्गत पालिकाले २० देखि ५० वर्षसम्मका स्थानीयबासीलाई रोजगारी दिन थालेको हो । कार्यक्रममा कोरोनाबाट बढी प्रभावित बेरोजगार युवायुवतीलाई लक्षित गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिअनुसार कम्तीमा ३ वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुन सक्नेछन् ।

यसका लागि गाउँपालिकाले सबै टोलमा पुगेर ‘गाउँ फर्क प्याराप्यारी’ अभियानको सूचना प्रवाह गरिरहेको छ । कार्यक्रमबाट हालसम्म ६० जनाले रोजगारी पाइसकेका छन् भने १७ जनाले व्यवसाय गर्ने योजना पेस गरेको पालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताउनुभयो ।

कोभिडपछि भारतलगायत विभिन्न मुलुकबाट २ सय ५० जना गाउँ फर्किएकोको तथ्यांक गाउँमा छ । गाउँ फर्केका सबैले व्यवसाय नरोजेका कारण अन्य व्यक्तिलाई प्रधानमन्त्री रोजगार र महाशिला विकास स्वयंसेवकमा सहभागी गराई रोजगारी दिने योजना बनाइएको ठकुरीले बताउनुभयो । जग्गा जमिन नभएका तथा आफै रोजगारमूलक व्यवसाय गर्न नसक्नेका लागि पालिकामा हुने भवन, सडक, गोरेटो बाटो तथा खानेपानीलगायतका आयोजनामा क्षमता र सीपअनुसारको रोजगारी दिइएको छ ।समाचारपत्र