१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पुनर्निर्माण सकिएपछि यस्तो देखियो काँक्रेविहार (भिडियो)


0
Shares

-मानबहादुर वली/ईमेज

सुर्खेत । मन्दिरको गजुर राखिएसँगै सुर्खेतको काँक्रेविहारको पुनर्निर्माण सम्पन्न भएको छ ।

पुरातात्विक र ऐतिहासिक यस क्षेत्रको पुनर्निर्माणसँगै सुर्खेतको पर्यटन विकासका लागि कोशेढुंगा बन्ने विश्वास गरिएको छ ।

नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरातत्व विभागबाट उत्खनन गरी पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा शुक्रबार गजुर राखिएसँगै मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको हो ।

काँक्रेविहार भग्नावशेष करिब १३ को शताब्दीतिर स्थापना भएको अनुमान छ

भग्नावशेषमा बुद्ध, शिव पार्वतीलगायतका धेरै मूर्तिहरु कुँदिएका छन् ।

२०५७ साल अघिसम्म यत्रतत्र अवस्थामा अलपत्र परेको काँक्रेबिहारको विकासका लागि पुरातत्व विभागले पहल गरेको थियो ।

काँक्रेबिहारको बारेमा कुनै स्पष्ट गुरुयोजना निर्माण नगरिएको भए पनि काँक्रेविहारलाई शिखर शैलीको मन्दिर स्थापना गर्ने लक्ष्य राखी २०७२ बाट पुनःनिर्माणमा तिव्रता दिइएको थियो ।

उत्खनन स्थलमा पुरातत्व विभागले २०६१ सालमै शिखर शैलीको मन्दिर बनाउन काम शुरु गरे पनि २०७२ सालदेखि भने पुनःनिर्माणले गति लिएको थियो ।

ऐतिहासिक काँक्रेविहार मन्दिर निर्माणको अन्तिम चरणको जगुर राख्दै वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले कर्णाली प्रदेशको पर्यटन पर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने दाबी गरे ।

मन्दिरमा गजुर राखेर निर्माण कार्यले पूर्णता पाएपनि काँक्रेविहार परिसरका भौतिक पूर्वाधार निर्माणका कामहरु भने अझै बाँकी नै छन् ।

निर्माण कम्पनीका प्रतिनिधि कृष्ण कुमार श्रेष्ठ रंगरोगनलगायतका कामहरु गर्न अझै एक वर्ष लाग्ने बताउँछन् । २०७२ साल असार ४ गतेदेखि ३ वर्षमा सम्पन्न गर्ने गरी निमार्ण कार्य सुरु गरिएको थियो ।

लुम्बिनीदेखि क्राँक्रेबिहार हुँदै मानसरोवरसम्म जाने पर्यटन करिडोर समेत रहेको यस क्षेत्रको पुनर्निर्माणले पर्यटकीय, शैक्षिक, र आर्थिक विकासका लािग थप टेवा पुुग्ने देखिन्छ ।