पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिवद्ध : अर्थमन्त्री पौडेल • Image Khabar Image Khabar


पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिवद्ध : अर्थमन्त्री पौडेल


Imagekhabar
६ माघ २०७७, मंगलवार १७:३६

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिवद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ ६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताउनुभयो ।

बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढ्न र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताउनुभयो ।

पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताउनुभयो ।

पर्यटन तथा होटल व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढिमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न, विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भैसकेको धितोको भ्यालुमा नै शत प्रतिशत सम्म हुने गरि ऋण प्रवाह गर्न व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्