
जुम्ला । देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका प्रकाशन गरी कर्णाली प्रदेशको दोस्रो ठूलो सहर जुम्लाको सदरमुकाम खलंगामा लोडसेडिङ सुरु भएको घोषणा गरेको छ ।
डेढ दशकदेखि देशभर हुँदै आएको लोडसेडिङ हटाउन विद्युत् प्राधिकरणले ०७३ मा सुरु गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ कात्तिकमा लक्ष्मीपूजाको दिन काठमाडौंमा लोडसेडिङ हुन दिएका थिएनन् । त्यसपछि देशका प्रमुख सहरमा लोडसेडिङ हटाउन सुरु गरिएको थियो । ०७६ वैशाखमा आएर औद्योगिक क्षेत्रमा पनि विद्युत् आपूर्ति नियमित गरेर देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो ।
त्यसको तीन वर्षपछि विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको तालिकाअनुसार जुम्ला सदरमुकाम खलंगामा दिनमा आठदेखि १५ घन्टासम्म लोडसेडिङ हुने भएको छ । अब खलंगाका बासिन्दाले दिनमा बढीमा १५ घन्टासम्म बिजुली बाल्न पाउनेछन् ।
प्राधिकरणले लोडसेडिङ गर्न खलंगालाई दुई समूहमा विभाजित गरेको छ । समूह ‘क’मा रहेका टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म बिजुली आउने भएको छ । बाँकी समय लोडसेडिङ हुनेछ । त्यस्तै, समूह ‘ख’मा रहेका ठूलो विजयनगर, सानो विजयनगर, बोहरागाउँ र बसपार्क क्षेत्रमा राति साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बिजुली आउनेछ । बाँकी समय भने लोडसेडिङ हुने प्राधिरकणले जनाएको छ ।
सदरमुकाम खलंगा रहेको चन्दननाथ नगरपालिकाभित्र चार हजार दुई सय ७१ घरधुरी छन् भने २० हजार आठ सय ८४ जनसंख्या छ । अझै पनि चन्दननाथ नगरपालिकाको वडा नं. ८ र ९ मा बिजुली पुगेको छैन । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्