प्रधानमन्त्रीको केटोको नैतिकता र नौटंकी • Image Khabar Image Khabar


प्रधानमन्त्रीको केटोको नैतिकता र नौटंकी


Imagekhabar
५ माघ २०७७, सोमबार १०:३४

प्रधानमन्त्रीको केटोको नैतिकता र नौटंकी

संजिव कार्की
प्रधानमन्त्री केपी ओली अराजक र ‘म नै रास्ट्र हुँ’ भन्ने अवस्था र स्थानमा छन् त्यसमा सन्देह छैन । तर प्रधानमन्त्री ओलीलाई यहाँसम्म पुर्याउन ज जसले भूमिका निर्वाह गरे तिनको पनि मुल्यांकन र र्‍याङ्किग आजको वस्तुनिष्ठ धरातलीय आवश्यकता हो । झन् ती मान्छे, व्यक्तिहरुको भूमिका र काँध जिम्बेवार छ जसले गैरजिम्मेवार मान्छेलाई अरु गैरजिम्मेवार बनाउन मद्दत गरे, आफ्नो उदेश्य भुले । प्रधानमन्त्री ओलीलाई उनका निकट र भक्तले करेक्सन गर्न सकेनन् सक्तैनन् त्यो मान्न सकिन्छ, सक्ने र हुति हुने भक्त बन्दैनन् यो यथार्थ हो तर जो जसले निरन्तर निन्दा र आलोचना गरेर ओली विरोधि चरित्र निर्माण गरे तिनले पनि आफूलाई ओलीमा नै समर्पित गरेर उनको कर्तुत बेलामा पर्दाफास गर्न सकेनन् जब कुबेला भयो तब बिरोध र भण्डाफोर भन्दै निस्किएका छन् यो राजनीतिमा बडो बिडम्बना र नैतिक आचरण विहीन कार्यको रुपमा चित्रित गरिन्छ ।

न्यूनतम नैतिक दायित्व र दम नभएको मान्छेले अर्को मान्छेको नैतिकता र इमानमा प्रश्न उठाउन सक्दैन ? जसको छहारी र शितलतासंगै रहुन्जेल प्रिय र वासनायुक्त लाग्यो र उसको पक्षमा अनावश्यक प्रतिरोध गरेर रिझाउन मरिहत्ते गर्यो आज अकस्मात उही व्यक्ति निक्रिस्ट र बेइमान देख्नु, अनैतिक, अराजक र असंबैधानिक सम्झनु आफू दृष्टिविहीन हुनुको प्रमाण पेश गर्नु हो । ओली बेइमान निस्कनुमा समग्र नेकपाजनको हिस्सा र भाग छदैछ त्यसमाथि पनि आस गरिएका भनिएका युवाहरुको अकर्मण्यता, पदलोलुपता र विवेकहीनता झन बढी हो भन्ने मेरो बुझाइ छ । त्यस्तै पात्र र प्रवृति हुन निवर्तमान संस्कृति तथा नागरिक उडयन र पर्यटनमन्त्री योगेश भट्टराई । संघर्षले खारिएका बिद्यार्थी राजनीतिको तल्लो तहबाट माथि उठेर अखिल जस्तो शसक्त संगठनको केन्द्रिय अध्यक्ष बन्ने ल्याकत राख्ने भट्टराई प्रति मान्छेको नजर र विश्वाश आसलाग्दो थियो नै यद्दपि केहीमा अझै होला पनि । तर उनले राजनीतिक नेतृत्वमा रहेर, मन्त्री बनेर जे गरे त्यसले निराशाजनक स्थिति खडा गरेको छ ।

आशा जगाउने कुनै उपाय र दृष्टि राज्यलाई दिन सकेको भान मिलेको छैन । उनको व्यवस्थापकीय कार्यक्षमता अब्बल हुनु त परको कुरा औसत समेत देखिएको छैन् । यसर्थ उनको मुल्यांकन जरुरी छ । अरु केही गर्न नसक्ने पात्रले पनि नीति र नैतिकताको ख्याल राख्ने काम गरेर भोलिको लागि सम्भावना अझै जीवित राख्ने काम गर्छन् जुन गर्न समेत योगेशले योग्यता देखाउन सकेनन् । केपी ओलीको कटु आलोचक योगेश उनको मन्त्री मण्डलमा सार्वजनिक रुपमा क्षमायाचना नगरी सामेल भए जुन अनैतिक र अनमेल राजनीतिको जोड थियो । मन्त्री हुनु अघि सरकारको आलोचक बनेका सरकारले काम गर्न नसकेको फेहरिस्त दिने योगेश डाक्टर गोविन्द केसीको सत्याग्रह तुहाउन डमी अनशनकारी खडा गरेर ओलीको काँध थाप्दै चाकरी गर्न गए र डाक्टर गोविन्द केसीको बिरुद्द निर्लज्ज प्रस्तुत भए । अपराधी पृष्टभूमिको एउटा केटो बोकेर अनशन काउन्टर गर्न अग्रपंक्तिमा मोर्चा कसे जुन उनको गम्भीर भूल थियो ।

अखिलको सामान्य स्वाभिमानी कार्यकर्ताले समेत इन्कार गर्नु पर्ने गलत मान्यता अनेरास्ववियुको पूर्व केन्द्रिय अध्यक्ष र सांसद भै सकेको नेकपाको स्थायी कमिटिको सदस्यले गरे जुन उनीप्रतिको भरोषा टुटनुको कारण बन्दै गयो । शिक्षा र स्वास्थ्य जस्तो बिषयको गम्भीर खेलवाड र राज्यको निरीहतालाई आफ्नो मुद्दा बनाउनु पर्ने योगेश, गोविन्द केसीले उठाएका मुद्दा भन्दा अझ प्रगतिशील बनेर राज्यलाई तत्कालिन सरकारलाई बाध्य पारेर जस लिने ठाउँ बनाउनुपर्ने भट्टराई सत्याग्रहको विरुद्द विष बमन गर्ने प्रतिरोध गर्ने नाइके बन्न लागे । जसको कारण उनलाई ओलीले मन्त्री त पत्याए तर आम बुद्दिजीवी र प्राज्ञिक वर्गले उनको क्षमता चिन्ने मौका पायो । यिनले केही गर्न सक्दैनन् भन्ने बुझ्न मान्छेहरुलाई समय लागेन । कतिलाई त आशा थियो कथं ओलीले काम गर्न दिएनन् या ओलीलाई सच्याउन सकेनन् भने यिनी राजिनामा दिएर बाहिरिन्छन् । आत्मस्वाभिमान कायम राख्छन । अखिलको नेतृत्व र जुझारुपन मर्न दिदैनन् । आफ्नो इमान देखाउछन् कि भन्ने झिनो विश्वास यो पंक्तिकारलाई पनि नभएको होइन ।

दुर्भाग्य पार्टीको छवि धमिलो भएर सरकार बदनाम बनिरहेकोबेलामा पनि यिनले कुनै एक्सन लिन सकेनन् जुन बेला र समयमा लिनु पर्थ्यो । भनिन्छ मन्दिरको घन्टी बेलामा बज्छ कुबेलामा घन्टी बज्नुको अर्थ हुन्न यिनले पनि घन्टी कुबेलामा बजाए जतिबेला ढिला भइसकेको थियो । चोरसँग चोरको पनि इमान हुन्छ तर यी राजनीतिकर्मी जोसँग इमान र नैतिकता हुनुपर्थ्यो त्यो पनि कायम राख्न सकेनन् अन्तिममा ओलीलाई लात हान्न पुगे जुन लात ,मन्त्री भएर काम गर्न नपाउदा,हात बाँधी दिंदा र सरकारले गरेको अलोकप्रिय निर्णयको बिरुद्द हुनुपर्थ्यो, कोभिडको महामारी चल्दा नागरिकप्रतिको दायित्वमा सरकार च्युत बन्दा देखिनुपर्थ्यो, ओम्नी प्रकरण छताछुल्ल भएर भ्रस्टाचार बाहिरिदा , जनताको स्वाथ्य माथिको खेलवाडमा,अलमल ढिलासुस्ती गरेर आफ्ना जनताको पिर मर्कामा सरकार नदेखिदा प्रधानमन्त्री सकारात्मक बनेर प्रस्तुत हुन नसक्दा यस्तो मन्त्रीपद मेरो लागि बेकार हो भनेर निस्कने हिम्मत योगेशले देखाउन सकेनन् तसर्थ ओली सरकारको राजनीतिक बिरोध गर्ने हैसियत ओलीकै शव्दमा वैगुनी केटोको छैन ।

ओलीले केटो भनेकोमा मेरो पनि बिमति छ तर यिनले त्यो बैगुनी केटो भन्दा माथि आफ्नो क्षमता देखाउन नसकेको सत्य जगजाहेर नै भएको कुरा हो । सत्यलाई साक्षात्कार सम्पूर्णतामा गर्न सकिन्न सामान्य मान्छेले त्यो बुता देखाउदैन् पनि । सामान्य कुरामा हेक्का नराख्ने र गल्ति महशुश गर्न नसक्ने जुन केटौलेपन र आल्काँचो अल्लारेपन योगेशले पटकपटक प्रदर्शन गरे त्यसले यिनको स्वभाव र प्रवृतिको उजागर गर्छ । समाजशास्त्रका स्नातकोत्तर योगेशले मानवीय संवेदना नदेखाएर अस्ट्रेलियाको आगलागी र डढेलोको बेला अस्तव्यस्त र शोकाकुल अवस्थामा नेपालको पर्यटन भ्रमण वर्षको बाजागाजा सहित बिगुल फुकेर सडकमा प्रदर्शन गर्न निस्के त्यो नितान्त गलत थियो तर उनले यसलाई आफू विरुद्दको गलत प्रचार र सरकार विरुद्दको जालसाजी भनेर बक्तव्य बाजी गरे । कोरोना मुक्त देश भनेर कोरोना फैलिदै गर्दा चिनियाँ नागरिक लगायत अन्य पाहुना डाक्ने हतारो गरेर दूरदर्शिताको अभाव आफूमा रहेको प्रस्ट पारे ।

आफ्नो बैंक खातामा आएको घरभाडाको प्रसंगमा पनि योगेशको प्रतिवाद उनको योग्यता र क्षमता सुहाउदो थिएन । आफ्नो कारण बिमान डिलेभएको कारणले नागरिक आक्रोश र क्षोभलाई ढाकछोप गर्न पारसको बिरुद्द हस्ताक्षर गरेर आन्दोलन गरेको इबिको बदला भनेर विषयान्तर गरेर लज्जा प्रकट गरे । पर्यटन मन्त्री भएर वायुसेवा निगमको हालतमा कति परिवर्तन गरे त्यो भन्न सकेका छैनन् । पदले विनयशिलता र सेवक हूँ भन्ने अनुभूत गराउन सक्नुपर्छ तर योगेश उग्र शासक झैँ प्रस्तुत बने जुन उनले सम्हालेको संस्कृति मन्त्रालयको स्लोगन विपरित हो । अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बारामा रुख काट्ने विषयको बिरोधमा रहेकालाई सम्बोधन रुख संगै बिरोधि काट्ने हुंकार गरे ।

आफ्नो कार्यक्षेत्र काठमाडौँ छोडेर चुनाव लडन ताप्लेजुङ पुगेर त्यहाँ काम गरिरहेका राजनीतिक कर्मिको भाग खोस्न पुगे जुन राजनीतिक रुपमा गर्न नहुने अर्को भूल हो । काठमाडौँ जहाँ दुई पटक चुनाव लडेर पनि जित्न सकेका थिएनन् त्यही हारको भयले स्थान्तरण गरे जबकी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिल्दा लौरो उठाए पनि चुनाव जित्ने स्थिति थियो तर काठमाडौँमा हारको भयले ताप्लेजुङ पुग्नु जोखिम बहन गर्न सक्ने नेता योगेश रहेनन् भन्ने अर्को प्रमाण हो । नयाँ पुस्ता र नयाँ पार्टीका युवाहरुलाई खिज्याएर योगेश बोलेको पनि सुनिन्थ्यो तपाईहरु जन्मदा म राजनीतिक कारणले जेल परेको थिए तसर्थ फुर्तिफार्ती नगर्नु जेल पर्नु छिटो जन्मनु नै कसैको विशेषाधिकार र प्राधिकार हो र ? खै सुझबुझ र भावी पुस्ता समेटने दृष्टिकोण ? पार्टी फुट्नुको सैद्दान्तिक कारण र धरातल पुष्टी गर्न योगेशले सक्छन ? जसरी पार्टी जुट्दा कुनै सैद्दान्तिक धरातल र कारण बारे नेकपा युवानेता र माओवादी केन्द्रका तत्कालिन यूवा नेताहरुले कुनै बहसको जरुरि देखेनन् भने आज पनि फूटको औचित्य पुष्टी गर्न योगेशहरुलाई पसिना निकाल्नुपर्ने अवस्था छ । यो किन भयो ? कारण सुपस्त छ एकता र विभाजनमा सत्ता र शक्ति केन्द्रित स्वार्थ थियो सैद्दान्तिक नीतिगत भिन्नता थिएन छैन । योगेश भट्टराई जस्ता मुसा प्रवृतिले प्रधानमन्त्री श्री तीन ओलीको बिरोध गर्ने निर्लज्जता प्रकट गरेको देख्दा भने ओली ठिकै हुन कि जस्तो लाग्छ ।

ओलीलाई रामकुमारी झाँक्री र ठाकुर गैरे लेखनाथ न्यौपानेले जति आलोचना गरे पनि कम हुन्छ तर ओलीको जुठो पुरो खाँदासम्म ओली रिझाउन जुनसुकै हर्कत र निकृष्ट व्यवहार प्रदर्शन गर्ने भट्टराईले ओलीतिर फर्केर धारे हात लाउदै आलोचना गरेको किमार्थ सुहाउन्न । बरु डमी अनशनकारी खडा गरेर त्यसको पाउ पुज्दै ओली जिन्दावाद भनेको खुब सुहाउँछ। हिजोसम्म सुहाएको थियो । हिजो कोपरालाई चरेशको थाल भन्दै जे पस्की दिए पनि मिठो र स्वादिष्ट ब्यन्जन भन्दै खाँदै हिंडेको देखेका रैतीले यतिछिटो बिर्से होला र कमरेडजी ? जनताको कुन समस्या र अप्ठ्यारोमा योगेशजी सडकमा निस्कनु भयो र आज सडकमा छु भन्नुहुन्छ ? कुन नैतिकताले ओलीको साथ दिन लगायो र कुन नैतिकताले साथ छोड्न ? ओलीको बोलीमा स्तर छैन यो छर्लंग छ तर योगेशले ओलीको प्रतिवाद गर्दा जे बोले यसमा स्तर होला र ? हारलाई पनि स्वीकार्न सक्नुपर्छ। कृष्णप्रसाद भट्टराईले मदन भण्डारी र विद्या भण्डारीसँग काठमाडौंमा चुनाव हार्दा सहर्ष स्वीकार्नु भयो, बहुलाएर हिँड्नु भएनू, भनेर भट्टराईको उदाहरण दिदै तपाई चै बहुलाउनुको कारण के भन्ने आशय ओलीमा देख्नुले बहालवाला प्रधानमन्त्रीलाई बहुला भनेको होइन र ? हिजोसम्म उनै बहुलाको मन्त्री बन्नुको तादम्यता के होला ? साँच्चिकै केटोको नौटंकी भएन र ? हेक्का छ बोलीको स्तरको ?

प्रतिक्रिया दिनुहोस्