सामान्य बिग्रिएको ट्विनअटर मर्मत गर्न छाडेर ६० करोडको जहाज किन्नतिर निगमको ध्यान • Image Khabar Image Khabar


सामान्य बिग्रिएको ट्विनअटर मर्मत गर्न छाडेर ६० करोडको जहाज किन्नतिर निगमको ध्यान


Imagekhabar
५ माघ २०७७, सोमबार ०६:४४

सामान्य बिग्रिएको ट्विनअटर मर्मत गर्न छाडेर ६० करोडको जहाज किन्नतिर निगमको ध्यान

काठमाडौं । नेपाल वायुसेवा निगमको प्रत्येकपटक आउने नेतृत्वले जहाज मर्मतभन्दा खरिदमा ध्यान दिने गरेको कारण आठ वर्षदेखि निगमको एउटा जहाज ह्याङ्गरमा थन्किएको छ । जुन सामान्य मर्मत गरेर दैनिक १० वटा उडान गर्नसक्ने अवस्थामा छ । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान गर्ने ट्विनअटर डिएचसी ६–३०० कलसाइन एबिएक्स जहाज ९ भदौ, ०६९ मा लुक्लाबाट काठमाडौं अवतरण गर्ने क्रममा पंखामा सामान्य समस्या आएपछि ग्राउन्डेड गरिएको थियो । त्यसयता निगमको नेतृत्व मात्रै होइन, पर्यटन मन्त्रालयमा पनि दर्जनौँ मन्त्री तथा सचिव फेरिएका छन् । तर, सामान्य मर्मत गर्दा उडान गर्न सकिने जहाज आठ वर्षदेखि ह्याङ्गरमा थन्क्याएर राखिएको छ । 

जहाजको इन्जिनको साइनकल बाँकी नै छ । विङको लाइफ सकिएको छ । तर, सबै बडी तथा पार्टस्को परीक्षण गर्न भने जरुरी छ । त्यसका लागि निगमकै इन्जिनियरहरूसमेत रहेका छन् । जहाज मर्मत गरेमा दैनिक १० वटासम्म उडान गर्न सकिने इन्जिनियरहरू बताउँछन् । निगम सञ्चालक समितिका सदस्यसमेत रहेका नेपालको ट्विनअटर जहाजका वरिष्ठ इन्जिनियर अच्युतराज पहाडी जहाज मर्मत गरेर उडाउन सकिने अवस्थामा रहेको बताउँछन् । ‘जहाज मर्मत गरेर मज्जाले उडान गर्न सकिन्छ, तर नियतवश नगरिएको हो,’ पहाडीले भने । 

त्यही ट्विनअटर बिएचसी ६–३०० जहाज मोडलका दुईवटा जहाज कलसाइन एबिटी र एबियु जहाज भने अझै उडान गरिरहेका छन् । चारजना क्याप्टेन र सातजना कोपाइलट पनि रहेका छन् । निगम व्यवस्थापनले चाहने हो भने केही हप्तामै थप तीनजना क्याप्टेन तयार गर्न सक्छ । तर, नयाँ जहाज खरिदमा चासो दिने निगम व्यवस्थापनको प्राथमिकताका कारण आठ वर्षदेखि ग्राउन्डेड जहाज मर्मतमा बेवास्ता गरिएको छ ।

 निगमको मर्मत–सम्भार विभागमा कार्यरत इन्जिनियरहरूका अनुसार जहाज व्यवस्थापनले चाहने हो भने १५ देखि २५ दिनभित्रमा उडानका लागि तयार पार्न सकिन्छ । जहाज मर्मतमा ४५ लाखदेखि ६० लाख रुपैयाँ लाग्ने अनुमान छ । ‘मर्मत गर्ने हो भने अझै पाँच वर्षभन्दा बढी सजिलै उडान गराउन सकिन्छ,’ एक इन्जिनियरले भने । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्