कुहिरो र हुस्सुका कारण आन्तरिक उडान प्रभावित • Image Khabar Image Khabar


कुहिरो र हुस्सुका कारण आन्तरिक उडान प्रभावित


Imagekhabar
२ माघ २०७७, शुक्रबार ०९:२५

कुहिरो र हुस्सुका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

आज देशभरको मौसम बदली भएर केही स्थानमा आंशिक वर्षा हुनुका साथै पहाडी स्थानमा हलका हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार जनकपुर, सिमरा, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ५६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्