
काठमाडौं । नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका छन् । बैठक शुक्रबार हैदराबाद हाउसमा बस्दै छ ।
भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा तीन दिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार उच्च राजनीतिक नेताहरूसँग भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच शुक्रबार बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ ।
नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड– १९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । संयुक्त आयोगको बैठकका एजेन्डा तय गर्न नेपाल र भारतका परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुखहरूबीच बुधबार र बिहीबार छलफल भएको थियो ।
नेपालबाट परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमाल र भारतबाट उत्तरी डिभिजन प्रमुख अरिन्दम बाग्चीबीच आयोगको बैठकका एजेन्डाबारे छलफल भएको कूटनीतिक स्रोतले जनाएको छ । त्यसका लागि हमाल केही दिनदेखि दिल्लीमा छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुनुका साथै यसअघि उच्च तहमा भएका समझदारी कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा हुने नेपाली अधिकारीहरूले जनाएका छन् ।
त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ । भारतले नेपाललाई दिने कोभिड– १९ विरुद्धको खोप अनुदान पनि शुक्रबार घोषणा गर्ने कार्यक्रम छ । ‘नेपाल–भारत द्विपक्षीय साझेदारीका समग्र पक्षमा उच्च राजनीतिक तहमा समीक्षा हुन्छ र दुई देशबीच विद्यमान विशेष र विशिष्ट सम्बन्ध थप सुदृढ गर्न संयुक्त आयोगले राजनीतिक मार्गदर्शन उपलब्ध गराउनेछ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।
सुरुमा मंसिर अन्तिम साताका लागि तय भएको संयुक्त आयोगको बैठक नेपालमा राजनीतिक अन्योलका कारण पछि सरेको थियो । आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । परराष्ट्रमन्त्री ज्ञवालीलाई ११ मंसिरमा भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृंगलाले निमन्त्रणा गरेका थिए । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्