एसईई, कक्षा ११ र १२ को परीक्षा असारमा पुर्‍याउने तयारी, १२ को नतिजा १० दिनभित्र • Image Khabar Image Khabar


एसईई, कक्षा ११ र १२ को परीक्षा असारमा पुर्‍याउने तयारी, १२ को नतिजा १० दिनभित्र


Imagekhabar
२ माघ २०७७, शुक्रबार ०६:२५

एसईई, कक्षा ११ र १२ को परीक्षा असारमा पुर्‍याउने तयारी, १२ को नतिजा १० दिनभित्र

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।

बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘कोभिड–१९ का कारण चैतसम्म कोर्स सकिने अवस्था छैन । त्यसैकारण एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौं ।’

उनले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा पुगेको शिक्षा मन्त्रालयले आफूलाई जानकारी गराएको बताए । यसअघि चैतमै शैक्षिक सत्रको अन्त्य हुँदै आएको थियो । तर कोरोना महामारीका कारण विद्यालय बन्द भएको र शैक्षिक गतिविधि प्रभावित हुँदा २०७८ जेठ अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघ दोस्रो सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा. पौडेलका अनुसार उत्तरपुस्तिका रुजुको काम अन्तिम चरणमा पुगेकाले अबको १० दिनभित्र नतिजा सार्वजनिक गरिनेछ ।

यस वर्षको एसईई परीक्षा आगामी असारभित्र गर्ने परीक्षा बोर्डको तयारीमा छ । कोभिड–१९ का कारण गएको वर्ष आन्तरिक मूल्यांकनमार्फत नतिजा प्रकाशन भएको थियो । बिदा कटौती र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने योजनामा शिक्षा मन्त्रालय छ ।

कोभिड–१९ का कारण विद्यार्थीलाई सजिलो हुने गरी १ सय ५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो । यस्तै कक्षा ११ को रजिस्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गर्ने बोर्डको तयारी छ । हाल देशभरका अधिकांश विद्यालयले भौतिक रूपमा सहभागी भएर पठनपाठन अघि बढाइरहेका छन् । तर यो शैक्षिक सत्रमा कक्षा ११ मा पाठ्यक्रम विवाद अदालतसम्म पुग्दा विद्यार्थी, अभिभावक र शिक्षक मारमा परेका थिए ।राजधानी

प्रतिक्रिया दिनुहोस्