१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


महिला भलिबल टिमलाई पल्सर स्पोर्टस् टिम अफ दि इयरको अवार्ड, सन्तोषी र आयशालाई स्पेशल अवार्ड


0
Shares

काठमाडौं, पुस २८ । नेपाली राष्ट्रिय महिला भलिबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको छ ।

गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो पटक रजत पदक जित्न सफल भएको थियो ।

सोही आधारमा टिम सम्मानित भएको हो ।

त्यस्तै वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फर सुवास तामाङले जितेका छन् ।

सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पारे ।

सुवासले १३ औं सागमा दुई स्वर्ण पदक जितेका थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड तेक्वान्दो प्रशिक्षक नविनकुमार श्रेष्ठले जितेका छन् ।

नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्यपदक दिलाएका थिए ।

पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट सम्मान प्राप्त गरेका छन् ।

त्यस्तै धाविका सन्तोषी श्रेष्ठ र तेक्वान्दो खेलाडी आयशा शाक्यले स्पेशल अवार्ड जितेका छन् ।

सन्तोषीले १३ औं सागमा पहिलो पटक एथलेटिक्सबाट महिलालाई स्वर्णपदक जिताउने क्रममा १० हजार मिटर दौडमा प्रतिस्पर्धीलाई मिलिसेकेन्डले हराएकी थिइन् ।

त्यस्तै दुई सन्तानकी आमा आयशाले १३ औं सागमा दुई वटा स्वर्णपदक जित्न सफल भएकी थिइन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाइरहेको सन्दर्भमा कोरोना भाइरसको महामारीलाई पन्छाउँदै १७ औं स्पोर्टस् अवार्ड आयोजना गरेको हो ।

कोरोनाकै कारण आयोजना सेमी भर्चुअलको माध्यमबाट विभिन्न १० विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन आज घोषणा गरिने छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।

वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।