
काठमाडौं, भदौ ६ । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले पाँचौं स्थान हासिल गरेको छ ।
शुक्रबार पाँचौं स्थानका लागि भएको भिडन्तमा नेपालले अफगानिस्तानलाई ३–१ को सेटमा हरायो ।
ललितपुरस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपाल २५–२३, २३–२५, २५–१८ र २६–२४ ले विजयी भयो ।
समूह चरणबाट बाहिरिएका दुई टोली नेपाल र अफगानिस्तानले पाँचौं स्थानका लागि खेलेका हुन् ।
नेपाल समूह चरणमा कीर्गिस्तान र माल्दिभ्ससित पराजय व्यहोर्दै पुछारमा रहेको थियो भने अर्को समूहको अफगानिस्तान समूहमा तेस्रो भएको थियो ।
प्रतियोगिताकाअघिका दुई मैत्रीपूर्ण खेलमा पनि नेपालले अफगानिस्तानलाई हराएको थियो ।
उज्वेकिस्तान र कीर्गिस्तानबीच उपाधि भिडन्त
सात टोली सहभागी प्रतियोगिताको उपाधिका लागि शनिबार उज्वेकिस्तान र कीर्गिस्तान खेल्नेछन् ।
सेमिफाइनलमा कीर्गिस्तानले तुर्कमेनिस्तानलाई तथा उज्वेकिस्तानले माल्दिभ्सलाई समान ३–० सोझो सेटमा हराएका थिए ।
छैटौं संस्करण बंगलादेशमा
च्याम्पियनसिपको छैटौं संस्करण बंगलादेशमा हुने भएको छ ।
शुक्रबार बसेको एसियन सेन्ट्रल जोनको साधारणसभाले छैटौं संस्करणको च्याम्पियनसिप सन् २०२० मा बंगलादेशमा गराउने निर्णय गरेको हो ।
महिलातर्फको सेन्टल जोन यो वर्ष बंगलादेशमा र अर्को वर्ष माल्दिभ्समा आयोजना गर्ने निर्णयसमेत भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्