अमेरिकी राष्ट्रपति ट्रम्पलाई पद त्याग्न दबाब, अन्यथा महाअभियोग लगाउने सभामुख पेलोसीको चेतावनी « Image Khabar


अमेरिकी राष्ट्रपति ट्रम्पलाई पद त्याग्न दबाब, अन्यथा महाअभियोग लगाउने सभामुख पेलोसीको चेतावनी


Imagekhabar
२५ पुष २०७७, शनिबार ०६:१४

nancy pellosi

काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख न्यान्सी पेलोसीले आग्रह गर्नुभएको छ ।

ट्रम्पले कार्यालय नछाडे संसदमाथि आक्रमण गराएको घटनामा महाअभियोग लगाइने चेतावनी उहाँले दिनुभएको छ ।

स्वेच्छाले नहटे संसदले कार्वाही थाल्ने भन्दै पेलोसीले अन्यथा पूर्वराष्ट्रपति निक्सनको अवस्था ब्यहोर्नुपर्ने चेतावनी दिनुभयो ।

५० वर्ष पहिले संसदले कसरी राष्ट्रपति निक्सनलाई राजीनामा गर्न बाध्य बनाएको थियो स्मरण गर्न उहाँले सुझाउनु भएको छ ।

ट्रम्पले खतरनाक देशद्रोहको काम गरेको भन्दै पेलोसीले रिपब्लिकन सांसदहरुले पनि ट्रम्पलाई तत्काल निस्कन भन्नुपर्ने बताउनुभयो ।

संसद आक्रमणमा संलग्नमाथि कानुनी कार्वाही गरिने भन्दै उहाँले घटनामा मारिएका एक प्रहरी अधिकारीको सम्मानमा संसदको झण्डा आधा झुकाउन पनि उहाँले निर्देशन दिनुभएको छ ।

संसद आक्रमण घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

आफ्ना उत्तेजित भीडलाई संसद भवनमा आक्रमण गर्न निर्देशन दिएको भन्दै सांसदहरुले ट्रम्पको आलोचना गरेका छन् । जनवरी २० मा कार्यकाल सकिन लागेका ट्रम्पमाथि फेरि महाअभियोगको त्रास आइलागेको हो ।

यसअघि सन् २०१९ मा पनि संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभले उहाँमाथि महाअभियोग लगाउन सिफारिश गरेको थियो । तर संसदको माथिलो सदन सिनेटमा आवश्यक मत नपुग्दा उहाँ जोगिनुभएको थियो ।

शक्तिको दुरुपयोग गरेको भन्दै डेमोक्र्याट सांसदहरुले ट्रम्पलाई महाअभियोग लगाएर सत्ताच्यूत गर्न खोजेका थिए ।

अमेरिकी इतिहासमा ट्रम्पबाहेक अरु दुई राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव ल्याइए पनि पारित भने भएको छैन ।

सन् १९९९ मा बिल क्लिन्टन र १८६८ मा एन्ड्रयु जोन्सनमाथि महाअभियोग प्रस्ताव लगाइए पनि पारित भने हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्