२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


वायुसेवा निगमले भदौ १२ देखि काठमाडौं–ओसाका सीधा उडान सुरु गर्ने


13
Shares

काठमाडौं, भदौ ३ । नेपाल वायुसेवा निगमले यही भदौ १२ गतेबाट जापानको ओसाकामा उडान सुरु गर्ने भएको छ ।

निगमले मंगलबार पत्रकार सम्मेलन गरी भदौ १२ गतेबाट काठमाडौं–ओसाका सीधा उडान गर्न लागेको जानकारी गराएको हो ।

निगमले हप्ताको तीनओटा उडान गर्नेगरी ओसाकामा उडान गर्न लागेको र आगामी जनवरी १ बाट टोकियोमा उडान सुरु गर्ने जनाएको छ ।

यस्तै, जापानकै नारितामा पनि उडानका लागि आवेदन गरिसकेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

सुरुमा यात्रीहरुको अभाव हुने भएपनि आगामी अक्टोबरपछि भने सोचेको नतिजा प्राप्त हुने निगमको विश्वास छ ।

अध्यक्ष खरेलले इमान्दारिताका साथ निगमले काम गरिरहेको दाबीसमेत गरे ।

पहिलो ‘फ्लाइट’ हुन्छ कि हुँदैन भन्ने जानकारी दिनका लागि उडाउनैपर्ने निगमको बाध्यता रहेको पनि उनको भनाइ छ ।

निगमले एक वर्षपछि ८१ प्रतिशतसम्म यात्रीहरु पुर्‍याउने लक्ष्य लिएको छ ।

आगामी सेप्टेम्बरसम्मका लागि प्रवर्द्धनात्मक भाडादर ७२ हजार रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।

निगमले यसअघि सन् १९९४ अक्टोबर ३० मा काठमाडौंबाट चीनको संघाई हुँदै जापानको ओसाकासम्म उडान गरेको थियो । तर, विभिन्न प्राविधिक कारणले गर्दा २००७ मा सम्झौता रद्द भएको थियो ।