
काठमाडौं, भदौ २ । सुडानका पूर्वराष्ट्रपति ओमार अल बसिरले साउदी अरबबाट लाखौं अमेरिकी डलर लिएको स्वीकारेको दाबी एकजना जासुसले गरेका छन् ।
यद्यपि, बसिरका वकिलहरुले भने उक्त आरोपलाई निराधार भनेका छन् ।
भ्रष्टाचारको आरोप लागेका सुडानका पूर्वराष्ट्रपति बसिरलाई सोमबार राजधानी खार्तुमको एक अदालतमा पेस गरिएको बेला एक जासुसले उक्त कुरा बताएका हुन् ।
निकै कडा सुरक्षा घेराबीच बसिरलाई अदालतमा पेस गरिएको थियो ।
गत अप्रिल ११ मा सेनाको सहयोगमा पदच्यूत गरिएका बसिरमाथि भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लागेको छ ।
भ्रष्टाचार र महँगीको विरोधमा सुडानी जनताले लामो समयसम्म गरेको प्रदर्शनपछि गत अप्रिलमा सैनिक जनरल अब्देल फताह अल बुर्हानले ३० वर्ष शासनमा रहेका बसिरलाई पदच्यूत गरेका थिए ।
पदच्यूत गरेपछि उनको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरका विभिन्न तीन देशका मुद्रा जफत गरिएको थियो ।
सेतो पहिरनमा रहेका पूर्वराष्ट्रपति बसिरले भने कुनै प्रतिक्रिया दिएनन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्