२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेकपाको राजनीतिक दाउपेचमा सुदूरपश्चिम प्रदेशसभा, हिउँदे अधिवेशन अनिश्चित


0
Shares

विराज रोस्यारा, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद र प्रदेश सभामुख कोरोना संक्रमित भएसँगै प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको हो । सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशसभाको बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभा अधिवेशन सञ्चालनका लागि प्रदेश प्रमुखको कार्यालयबाट सचिवालयलाई अहिलेसम्म कुनै जानकारी आएको छैन । गत साउन ३१ गते प्रदेश सभाको छैटौं अधिवेशन सम्पन्न भएको थियो । प्रदेश सभाको बैठक नबसेको ५ महिना पुग्नै लागेको छ । एउटा अधिवेशन सकिएको मितिले ६ महिनाभित्र अधिवेशन बोलाउनु पर्ने प्रावधान रहेको छ ।

सभा बोलाउनुपर्ने बाध्यात्मक सीमा नजिकै आइसक्दा पनि प्रदेश सभा कहिले सञ्चालन हुने भन्नेबारे अहिले टुङ्गो नभएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताउनुभएको छ । अहिलेसम्म प्रदेश सभा सचिवालयमा नयाँ विधेयक दर्ता नभएको बताउँदै उहाँले छैटौं अधिवेशनमै पेश भएका दुई वटा विधेयक समितिमा रहेको बताउनुभयो ।

समितिमा रहेका दुवै विधेयकमाथि छलफलको भइसकेको छ । अधिवेशन सञ्चालन गर्ने सवालमा प्रदेश सरकार नै द्विविधामा रहेको छ । प्रदेश सभाको अधिवेशन सुरु हुन नसक्दा आवश्यक कानून निर्माणका साथै, जनताका समस्या, समसामयिक विषयमा छलफल हुन सकेको छैन ।

प्रदेश सभा सदस्य दुर्गा विकले कोरोना महामारीको प्रभावले उत्पन्न जनताका विविध समस्या माथि छलफल जरुरी रहेकाले प्रदेश सभा बैठक सञ्चालन गर्न आवश्यक भएको बताउनु भयो । नेकपामा उत्पन्न विवादको असरबाट प्रदेश सरकार पनि अछुतो छैन । प्रदेश सरकारमा रहेका मन्त्रीदेखि लिएर नेकपाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरु नै दुई खेमामा विभाजित भएका छन् । सुदूरपश्चिम प्रदेश सभाबाट हालसम्म ४२ वटा कानून निर्माण भइसकेको छ । दुई वटा विधेयक भने प्रक्रियामा रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । (भिडियो)