२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ऊर्जा मन्त्रालयलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउँछौंः ऊर्जामन्त्री


0
Shares

काठमाडौं, भदौ १ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ऊर्जा मन्त्रालयलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने दाबी गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको ३४औं वार्षिकोत्सवमा आइतबार आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीसमक्ष कार्यसम्पादन सम्झौता गर्दा ऊर्जा मन्त्रालयलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने अठोट व्यक्त गरेको बताएका हुन् । सोही अनुसार काम गर्न उनले कर्मचारीलाई निर्देशनसमेत दिए ।

प्राधिकरणको इतिहासमा नाफाको नयाँ रेकर्ड कायम हुँदै आएको र आगामी वर्ष साढे ८ अर्ब नाफामा लैजाने प्रक्षेपण गरेको उनले बताए । प्राधिकरण विद्युत उत्पादनमा समेत अघि बढिसकेकाले आगामी ४ वर्षभित्र देशभित्रै मागेजति बिजुली पु¥याउन सक्ने मन्त्री पुनको भनाइ छ ।

ऊर्जा क्षेत्रमा लगानी गर्ने वातावरण बनिसकेको भन्दै उनले निर्धक्क भई लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक वर्षभित्रै ४० जिल्लालाई पुर्ण रुपमा विद्युतीकरण गर्ने बताए । गत आर्थिक वर्षमा विद्युत चुहावट १५.३२ प्रतिशतमा झार्न सफल भएको भन्दै उनले अब विद्युत चुहावटलाई अन्तर्राष्ट्रिय मापदण्डमा ल्याइने बताए ।

ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युतीय संरचनालाई बलियो बनाउन आवश्यक रहेको बताए । आगामी वर्ष धेरै आयोजना सम्पन्न हुँदै भन्दै उनले प्राधिकरणले ग्यासलाई विस्थापन गर्नुपर्ने र विद्युतीय सवारीको संख्या बढाउन चार्जिङ स्टेसन स्थापना गर्नुपर्ने बताए ।

प्राधिकरणले गत आर्थिक वर्षमा २ अर्ब ८१ करोड युनिट विद्युत आयात गरेको र ३४ करोड युनिट निर्यात गरेको छ । प्राधिकरणले यस अवधिमा ७ अर्ब २० करोड नाफा गरेको छ भने कुल सञ्चिती घाटा घटाएर १५ अर्ब २२ करोडमा झार्न सफल भएको जनाएको छ ।

प्राधिकरणलाई नाफामा लगेपछि कर्मचारीलाई सात हजार प्रोत्साहन भत्ता र २ हजार रुपैयाँ महँगी भत्ता दिइने पनि मन्त्री पुनले घोषणा गरे ।