सिवी अधिकारी (रासस)
काठमाडौं, साउन ५ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइडबढी विमान यही साउन ११ गते काठमाडौं आइपुग्ने भएको छ ।
अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ ।
‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
‘दोस्रो वाइडबढी विमान भित्र्याउनका लागि निगमको एक समूह हिजो शुक्रबार फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धकसहितको टोली भोलि आइतबार त्यसतर्फ जाने तयारीमा छ’–उनले भने ।
वाइडबडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज सहरबाट उडान भरी काठमाडौं आउनेछ ।
निगमको पहिलो वाइडबढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइडबडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज सहरबाट ९ घन्टाको उडानपछि काठमाडौं आइपुगेको थियो ।
सरकारको ‘ग्यारेन्टी’मा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुईओटा विमान खरिद गरिएको निगमले जनाएको छ ।
निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान आइसकेको छ भने दोस्रो विमान आगामी शुक्रबार काठमाडौं आइपुग्नेछ ।
वि.सं. २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो ।
जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।
निगमकाअनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइडबढी विमानको सिट क्षमता समान छ ।
कुल २७४ सिट क्षमताको वाइडबडी विमानको १८ ओटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
निगमले पहिलो वाइडबढी विमानबाट आगामी साउन १८ (अगस्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान सुरु गर्दैछ ।
दोस्रो विमान पनि हाललाई पुरानै गन्तव्यमा उडाइनेछ । पछि क्रमशः नयाँ गन्तव्यमा उडान भर्ने निगमको तयारी छ ।
दोस्रो वाइडबढी आएपछि आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिकरुपमा उडान गर्ने तयारी गरिएको छ ।
वाइडबढी विमानका लागि विमानचालक (पाइलट)को व्यवस्थासमेत भइसकेको प्रवक्ता श्रेष्ठले बताए ।
‘वाइडबढी उडाउने पाइलट तयार भइसकेका छन् । केही आउनेक्रममा छन् । दोस्रो वाइडबढीका लागि पनि चाँडै पाइलटको व्यवस्था हुनेछ’–उनले भने ।
निगमकाअनुसार अब आउने थप वाइडबढी विमानसमेतलाई दृष्टिगत गरी जम्मा १३ ओटा विमानलाई पाइलट ११६ जना चाहिने भएपनि हाल निगमसँग जम्मा ८८ जनामात्र पाइलट छन् । थप २८ जना पाइलट सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सन्चालनमा ल्याउने निगमको भनाइ छ ।
निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी पाइलटहरु कारारमा नियुक्त गर्दै जाने नीति लिएको हालै पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको थियो ।
यसका साथै निगमभित्रका पाइलटलाई पनि तालिम दिँदै क्रमिकरुपमा नियमानुसार स्तरोन्नति ‘अपग्रेट’ गर्दै लैजाने जनाएको छ ।
निगमकाअनुसार आन्तरिक उडानका लागि चिनियाँ वाई–१२ र ट्वीनअटर विमानका लागि विदेशी क्याप्टेन करारमा नियुक्त गर्दा मासिक अन्दाजी रु १२ लाख तलब भत्ता (करसहित) लाग्ने देखिएको छ ।
वाइड बढी ए३३०–२०० को लागि क्याप्टेनको अन्दाजी रु १८ लाख र को–पाइलटको रु १२ लाख लाग्नेछ ।
हालको अवस्थामा नयाँ विमान थप्दै जाने हो भने विदेशी पाइलटकै भरपर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको जनाइएको छ ।
विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ ।
नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीतिसमेत निगमको छ ।
निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए ।
हाल अन्तर्राष्ट्रिय उडानका ८ गन्तव्य भारतको नयाँदिल्ली, बैंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।
एक बोइङ नाइन एसीबी–५७५ र एअरबस ३२० सिरिजका दुईओटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।
निगमले आन्तरिकतर्फ ९ ओटा विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका वाई १२ चारओटा, एमए ६० दुईओटा र तीनओटा ट्वीनअटर विमान छन् ।
प्रतिक्रिया दिनुहोस्