
कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व वर्षेनी बढ्दै गएकोे छ ।
कर शिक्षा, जनचेतनामुलक कार्यक्रम तथा बजार अनुगमन र कारवाहीलाई प्राथमिकता दिएकाले कार्यालयले वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा ५५ करोड बढी अर्थात २ अर्ब १६ करोड राजस्व संकलन गरेको छ ।
यस्तै, २०७४/०७५ मा १ अर्ब १९ करोड ३१ लाख ५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा २८ करोड ४६ लाख ४८ हजार बढी राजस्व संकलन गरेको थियो ।
कार्यालयको सघन मेहनतले लक्ष्यभन्दा ५५ करोड बढी राजस्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए ।
उनले विभिन्न खाले कर नतिर्ने ३० वटा व्यावसायिक फर्मलाईसमेत कारवाहीको दायरामा ल्याइएको बताए ।
कतिपय भारतीय नागरिकले नेपाली नागरिकको प्यान नम्बर प्रयोग गरेर व्यवसाय संचालन गर्दै आएको र व्यवसाय घाटामा गएपछि व्यवसाय नै बन्द गर्ने परिपाटीले करदाताको अनुपातमा अझै राजस्व संकलन गर्न नसकिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्