दीपक श्रेष्ठ/कबिर महर्जन (इमेज)
काठमाडौं, साउन ५ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद सरकारले नथपेपछि समिति अहिले प्रतिवेदन लेखनमा जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वयं नै म्याद थप्न अनिच्छुक भएपछि समितिको थप अनुसन्धान रोकिएको हो ।
सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि २० चैतमा समिति गठन गरेको थियो ।
दुईपटक म्याद थप्दा पनि तस्करीको सुन भेट्टाउन नसकेपछि प्रधानमन्त्री केपी ओली समितिको म्याद नथप्ने निष्कर्षमा पुगेका हुन् ।
सुरुमा ४५ दिन म्याद पाएको समितिले काम नसकाएपछि म्याद थपेर तीन महिना १२ दिन पुर्याइएको थियो ।
यसबीचमा मुख्य अभियुक्त मानिएका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित प्रहरीका बहालवाला उच्च अधिकृत र पूर्वडीआइजी समातिए । तर, तस्करीको सुनको भने कुनै सुइँकोसम्म लागेको छैन ।
केही दिनअघिमात्र गोरे भनिने चूडामणिका भाइ रमेश उप्रेतीलाई पनि समितिले पक्रेको छ ।
सुनकान्डमा स्वयं गृहमन्त्री रामबहादुर थापाले ‘साना र मझौलामात्र होइन, ठूला माछा पनि समातिने’ दाबी गरेका थिए ।
यो चर्चा गर्दा यस कान्डमा राजनीतिक नेतृत्वसम्म तानिनसक्ने अनुमान आममानिसले गरेका थिए । तर, यो अवधिमा ठूला माछाका कुरा त कता हराए–हराए, वर्षाको भेलमा साना र मझौला माछामात्रै बगे ।
पौडेल समितिले अनुसन्धानमा रहेका प्रहरीलाई नै निशाना बनाएपछि पूर्वप्रहरी अधिकारीहरुले विरोधमा वक्तव्यवाजीसमेत गरे ।
पूर्वप्रहरी अधिकारी नै पक्राउ परेका प्रहरीको बचाउमा उत्रिएपछि सो समितिले अनुसन्धानमा असरपार्ने अभिव्यक्ति नदिन चेतावनीसमेत दिएको थियो ।
तर, समितिले यो अवधिमा के–के गर्यो ? भन्ने सार्वजनिक गर्न बाँकी नै छ भने हराएको सुन फेला नपर्दा कसले खोज्ने हो ? भन्ने अन्योल छाएको छ ?
७५ भन्दा धेरैलाई विपक्षी बनाइएको छ । ४५ जनाभन्दा धेरै पक्राउ परेका छन् । पुर्पक्षका लागि जेल चलान गरिएकामध्ये दुईजना छुटेका छन् । केही फरार छन् ।
तीन वर्षको अवधिमा ३८ क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ती सुन विभिन्न नाका हुँदै भारतीय बजारमा पुगेको समितिले नै भनेकाले यसको जवाफदेहिताचाहिँ कसको हो त ? भन्ने प्रश्न उठेको छ ।
तस्करीमा सबैभन्दा धेरै पर्साको वीरगन्ज, विराटनगरको जोगबनी र झापाको काँकडभिट्टा नाका प्रयोग भएको बताइन्छ । तर, समितिले अनुसन्धान अवधिभर भन्सारका कुनै कर्मचारीलाई पनि पक्रेको देखिएन ।
अब म्याद नै नथपिएपछि थप के होला र ? मूल प्रमाण सुन नै फेला नपरेका सन्दर्भमा अब के हुन्छ त ?
सनम शाक्यको हत्यामा ‘मुख्य दोषी’ गोरेसहितका अभियुक्तलाई करार त गरिएला ! तर, साढे ३३ किलो सुन तस्करी गरेका अभियोगमा पक्राउ परेकाहरुबारे के हुने हो ? अन्योल भने देखिएको छ ।
अझ सुन तस्करीको आरोपमा फरार भएको भन्दै बैंक खाता रोक्का गरी व्यवसायमासमेत ‘सिल’ गरिएकाहरुको के हुनेछ ? भन्ने अन्योल पनि उत्तिकै छ । अब यी सबै प्रश्नको जवाफ अदालती प्रक्रियाबाटमात्र टुंग्गिने अवस्था आएको छ ।




प्रतिक्रिया दिनुहोस्