११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


मदनमणि दीक्षितः विशिष्ट पहिचान


0
Shares

काठमाडौं, साउन ३० । नेपाली पत्रकारिता र वाङ्मय क्षेत्रका विविध आयाममा स्व. मदनमणि दीक्षितको महत्वपूर्ण योगदान छ ।

शिक्षण, राजनीति, साहित्य, इतिहास दर्शन, फोटोग्राफीलगायतका विधामा उनले विशिष्ट पहिचान बनाएका छन् ।

जहानियाँ राणा शासनविरोधी आन्दोलन तथा पञ्चायतविरोधी प्रजातान्त्रिक आन्दोलनमा दीक्षितले खेलेको भूमिका स्मरणीय मानिन्छ ।

बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीको सन्तानकोरुपमा मदनमणि दीक्षितको जन्म १९७९ साल फागुन ६ गते काठमाडौंको गैरीधारामा भएको थियो ।

सुरुआती शिक्षा घरबाटै लिएका उनले पछि स्नातकोत्तरसम्मको पढाइ पूरा गरे, बनारसबाट ।

पढाइ सकेर स्वदेश फर्किएपछि उनी शिक्षण पेसामा जोडिन पुगे । दीक्षितले वीरगन्ज हाइस्कुलमा प्रधानाध्यापककारुपमा साढे दुई वर्ष काम गरे ।

त्यसपछि उनको यात्रा पत्रकारितातर्फ मोडिन पुग्यो । २०१३ सालमा ‘दैनिक हालखबर’ पत्रिकाको प्रधानसम्पादक बने । २०१५ सालदेखि आफ्नै सम्पादन र प्रकाशनमा ‘समीक्षा’ साप्ताहिक सुरू गरे ।

पञ्चायतकालमा वाक स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएको उक्त साप्ताहिक २०४६ सालको परिवर्तनपछि २०५२ सालबाट बन्द भयो । तर, दीक्षितको कलम रोकिएन ।

उनले त्यसपछि पनि निरन्तररुपमा पत्रपत्रिकामार्फत् आफ्ना विचार प्रकाशित गरिराखे ।

तत्कालीन राज्यसत्ताविरुद्ध लेखेको आरोपमा उनी ९ महिनासम्म जेलसमेत परेका थिए ।

पत्रकारितामा लामो समय बिताएका मदनमणि दीक्षितको अर्को सशक्त पाटो हो, साहित्य ।

२०१९ सालमा ‘रुपरेखा’मा कथा प्रकाशित गरेर उनले साहित्ययात्रा थालेका थिए । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’, ‘चरैवेति’, ‘त्यो युग’, ‘हाम्रा ती दिन’सहितका निबन्धसंग्रह गरी ४६ कृति प्रकाशित छन् ।

उनको उपन्यास माधवी अत्यन्त लोकप्रिय मानिन्छ । यो कृतिका लागि उनले मदन पुरस्कार र साझा पुरस्कार पाएका थिए ।

दीक्षित गोरखा दक्षिण बाहु, पद्यश्री साधनालगायत ७० भन्दा बढी सम्मान र पुरस्कारबाट सम्मानित भएका छन् ।

मदनमणि दीक्षितले फोटोग्राफीमा पनि सक्रियता देखाएका थिए । उनले खिचेका ऐतिहासिक तस्वीरहरु तत्कालीन परिवेशको साक्षी बन्न पुगेका छन् ।

दीक्षितले २००७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिइ २०१३ सालदेखि २०४१ सालसम्म राजनीति पनि गरेका थिए । तर, उनको मूलकर्म भने साहित्य र पत्रकारिता नै रह्यो ।

उनी २०५० सालमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पनि बनेका थिए ।

यसरी विभिन्न विधामा आफूलाई अब्बल सावित गरेका वरिष्ठ वाङ्मय साधक मदनमणि दीक्षित हामीबाट बिदा भएका छन्, सदाका लागि । तर, उनको सत्कर्म र कृतिहरुले भने उनलाई स्मरणीय बनाइरहनेछ ।

भिडियो हेर्नुहोस्