काठमाडौं, साउन २९ । आउँदो भदौ २ गतेदेखि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताअघि भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले अफगानिस्तानमाथि रोमान्चक जित निकालेको छ ।
बुधबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।
नेपाल २२–२५, २५–१७, २५–२१, २३–२५ र १५–१३ को सेटमा विजयी भयो ।
दोस्रो मैत्रीपूर्ण खेल बिहीबार दिउँसो हुनेछ ।
कप्तान राना घाइते
यसैबीच, नेपाली टोलीका कप्तान इम राना घाइते भएका छन् ।
बुधबार अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलकाक्रममा उनी घाइते भएका हुन् ।
तेस्रो ‘सेट’को खेल चलिरहँदा उनको दायाँ खुट्टाको ‘मसल’मा समस्या आएपछि उनी बाहिरिएका थिए ।
सात टोलीबीच प्रतिस्पर्धा
एसियाली भलिबल संघको संयोजनमा हुने सो प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको खेलतालिका प्राविधिक टोलीको बैठकपछि केही दिनमा सार्वजनिक गरिने संघले जनाएको छ ।
मैत्रीपूर्ण खेलका लागि अफगानी टोली मंगलबार काठमाडौं आएको हो । अरु टोली आउन बाँकी छ ।
टिकट शुल्क नलाग्ने
भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछन् ।
प्रतियोगिता हेर्न आउने दर्शकलाई टिकटको शुल्क नलाग्ने जानकारी गराएको छ ।
विदेशी टोलीलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्पडेक्स’ स्थापना गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्