
-दीपक घिमिरे/ईमेज
भैरहवा । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले तीव्र गतिमा अगाडि बढेको छ ।
सरकारले घोषणा गरेको भिजिट २०२० लाई लक्षित गरी विमानस्थल निर्माणलाई तीव्रता दिइएको हो ।
आगामी वर्षको वैशाखबाट नियमित रुपमा अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरण गर्ने गरी विमानस्थलको काम तीव्र बनाइएको आयोजनाले बताएको छ ।
सोहीअनुसार विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम धमाधम रुपमा अगाडि बढाइएको हो ।
विमानस्थलको मुटु मानिने रन–वे निर्माण गरी अहिले मार्किङको काम भइरहेको छ ।
तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको रन–वेमा परीक्षण उडान डिसेम्बरभित्रै गर्ने गरी काम अगाडि बढाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. प्रवेश अधिकारी बताउँछन् ।
त्यसैगरी ट्याक्सी वेमा मार्किङको काम अन्तिम चरणमा पुगेको छ भने एप्रोनमा मार्किङको काम केही दिनमै शुरु हुने आयोजनाले बताएको छ ।
हालसम्म विमानस्थलको ८० प्रतिशत बढी काम सम्पन्न भइसकेको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।
२०२३ सालमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट एभियसन कम्पनीले ६ अर्ब २२ करोडको लागतमा सन् २०१७ डिसेम्बरभित्रै काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
तर २०७२ सालको विनाशकारी भूकम्प, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीले काममा ढिलाइ भएको भन्दै २०१९ जुलाईसम्म समय थप गरिएको थियो ।
थपिएको समयमा पनि काम नसकिएपछि फेरि तेस्रोपटक समय थप गरी २०१९ को डिसेम्बरसम्म काम सक्नुपर्ने समयसीमा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्